हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आश्था राउतलाई महिला प्रहरीको खुला पत्र – ‘म अझै पनि तिम्रो पहराको लागि खटिनेछु बहिनी’
प्रिय बहिनी आश्था,
गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !
तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बहिनी- सबथोक सहन अनि सबथोक झेल्न !
थाहा छ बहिनी ? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन्!
हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमीमाथि पर्न गयो होला !
तर, तिमी त देशका गीत गाउने, चेलीका गीत गाउने, गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित, सभ्य र सहरीया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बहिनी !
सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठूलो जमातले ‘डन्ठिनी’लाई ठिकै गर्यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?
आश्था हरायो भने संसार रहँदैन, सम्बन्ध रहँदैन, संरचना रहँदैन र त्यो आश्था पद, पैसा र प्रतिष्ठासँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बहिनी । अहङ्कारले अँध्यारो तर्फ लैजान्छ ।
म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भीड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दह्रिलाे आश्था उमार्न सकूँ !
लेखक– हेमन्त गिरी