गायिका आस्था राउत प्रहरीको फरार अभियुक्त

काठमाडौँ । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको हो । प्रहरीले पाएको यो अनुमतिसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । उनीविरुद्ध आरोप पुष्टि भए प्रमुख जिल्ला अधिकारीले १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।

सिक्किममा आयोजित एक कार्यक्रममा जाने क्रममा बधुबार काठमाडौं–भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुव्र्यवहार भएको भन्दै राउतले आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गरेकी थिइन् । प्रहरीमाथि अपशब्द प्रयोग गरिएको उनको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।
रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो । त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुव्र्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ ।
श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *