उपत्यकामा ‘घुमुवा प्रहरी’ हटाइयो

काठमाडाैँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

“घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज गरिएको छ, अब उनीहरु सबै पोशाक लगाएर शान्ति सुरक्षामा खटिनेछन्”, प्रहरी नायब महानिरीक्षक पोखरेलले रासससँग भन्नुभयो । उहाँका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताउनुभयो । उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ । कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *