देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिनेः प्रदेश प्रमुख अधिकारी

बिराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले खेलका माध्यमबाट देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिने बताउनुभएको छ ।

प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घद्वारा आज यहाँ आयोजित रामेछापको खाँडादेवी गाउँपालिका –७ , गाल्पामा सम्पन्न २० औँ राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीलाई सम्मान गर्दै उहाँले अनुशासन, लगन, इमान्दार, आँट, क्षमता र विश्वासका साथ खेल खेल्ने खेलाडीको सम्पूर्ण जिम्मेवारी राज्यले लिने बताउनुभयो ।

प्रदेश प्रमुख अधिकारीले खेलकूदका माध्यमबाट जीविकोपार्जन गर्नसक्ने अवस्था आइसकेकाले खेलाडीले आत्मविश्वास र जिम्मेवारीपूर्वक आफ्नो खेल, कौशल प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले प्रतियोगितामा पदक जित्न सफल २२ खेलाडीलाई माला, खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

प्रदेश प्रमुख प्यासीले उक्त प्रतियोगितामा ग्रुप स्पायरिङको पुरुष विधामा स्वर्णपदक प्राप्त गर्ने भुवन मगर, दिलन राई, वीरबहादुर तामाङ, हीराधन राई र सुरज चौधरी, पुरुष एकल स्पायरिङको ८० केजी माथिको तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने रोशन मगर र ६० देखि ६५ केजी तौल समूहमा स्वर्णपदक प्राप्त गर्ने आशिष मगर र महिला एकल प्याटन ब्ल्याक बेल्ट फष्ट डानतर्फ स्वर्णपदक प्राप्त गर्ने केरिसा आचार्यलाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा पुरुष ग्रुप प्याटनतर्फ रजतपदक प्राप्त गर्ने सङ्गीत राई, आशिष तामाङ, अभय राई, मिसन श्रेष्ठ र विक्रम श्रेष्ठ र पुरुष एकल प्याटन ब्ल्याक बेल्ट तेस्रो डानतर्फ रजत प्राप्त गर्ने अर्जुन चौधरी रहनुभएको छ ।

महिला ग्रुप स्पायरिङतर्फ कास्यपदक प्राप्त गर्ने अमिसा तामाङ, भावना तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राई, पुरुष एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने निशान खत्री, ५० देखि ५५ केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने लोप्सन शेर्पा र महिला एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने भावना तामाङ सम्मानित हुनुभएको थियो ।

गत मङ्सिर २८ गतेदेखि ३० गते तीन दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा एकल स्पायरिङ पुरुष र महिला, ग्रुप स्पायरिङ पुरुष र महिला, एकल प्याटन पुरुष र महिला, ग्रुप प्याटन पुरुष र महिला र सेल्फ डिफेन्स पुरुष र महिला गरी पाँच वटा विधामा प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा प्रदेश नं १ ले तीन विधामा स्वर्ण, दुई विधामा रजत र चार विधामा कास्यपदक प्राप्त गर्न सफल भएको आयोजक सङ्घका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिनुभयो । प्रदेश १ बाट २६ खेलाडीले सहभागिता जनाएकामा २२ खेलाडीले पदक जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *