मुशर्रफ मृत्युदण्ड अघि मरे भने लासलाई दोबाटोमा लगेर ३ दिन झुण्ड्याउन अदालतको आदेश

काठमाडौं । केही दिन अघि मृत्युदण्डको सजाय सुनाइएका पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ अहिले दुवईमा उपचाररत छन् । मृृत्युदण्डको सजाय सुनाइएपछि पनि बाँच्ने आशमा रोगसँग लडिरहेका ७६ वर्षीय उनलाई यता लाहोर उच्च अदालतले मृत्यु दण्ड अघि नै उनको मृत्यु भए शवलाई दोबाटोमा लगेर झुण्ड्याउन आदेश दिएको छ ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी चौकमा झुण्ड्याउनुपर्ने उल्लेख छ ।

पाकिस्तानी सत्तारुढ दल पिटीआई र त्यहाँको सेनाले मृत्युदण्ड दिने फैसलाको विरोध गरिरहेका बेला अदालतको यो आदेशले स्थितिलाई थप जटिल बनाउन सक्ने बताइएको छ ।

पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरेका थिए । मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निष्कर्ष छ । उनका वकिलले भने पुनरावेदन गर्ने बताएकाे बीबीसीले समाचारमा जनाएकाे छ।

अदालतको उक्त फैसलापछि उनले अस्पतालबाटै भिडियो सन्देश जारी गरेर अदालतले प्रतिशोधपूर्ण फैसला गरेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *