बिच्किएका पौडेललाई फकाउन बोहोराटार पुगे निधि र देउवा, के भयो कुरा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उहाँकै निवास पुग्नुभएको छ ।

शुक्रबारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गर्नुभएका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुग्नुभएको हो । भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडी बढ्ने विषयमा कुराकानी नेताहरुले बताएका छन् । सभापति देउवालाई हतारमा अगाडी बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडी बढ्नुपर्ने सुझाव देउवालाई आफुले दिएको पौडेलले बताउनुभयो ।

‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ । पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्याहरुर्लाइ न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडी लानुपर्छ । यहि विषयमा सभापति ज्यूसँग कुरा भएको छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकन्छि ? यो सभापतिको जिम्मेवारी हो । हामी सबैले साथ दिन्छौँ’, उहाँले भन्नुभयो ।

सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उहाँको धारणा थियो ।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । ‘उहाँहरु (वार्ता समिति) ले बसेर छलफल गरेर सबै कुरा मिलाउँछन् । सबै भन्दा पहिले महाधिवेशनको एजेण्डा पहिलो सर्त हो । यसलाई अगाडी राखेर अरुपनि संगठनात्मक समस्याहरुलाई थुईथरी बसेर पारस्परीकताका आधारमा न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै जानुपर्छ’, उहाँले भन्नुभयो ।

छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताउनुभयो ।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताउनुभयो । पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उहाँको भनाई छ ।

‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ । समायोजनको काम सकिएपछि कार्यतालिका पनि हामी बनाउँला । कार्यतालिका बनाउन एक वर्षको अवधि थप्नुपर्छ । अवधि थपेपछि कार्यतालिका बनाउने काम निर्वाचन समितिको हो । महाधिवेशन कार्यतालिका नबनाउने कहाँ भन्या छ र ?’, उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रिय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेडका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । ‘जीवन्त पार्टीभित्र लाभइ म्याण्डेडका कुराहरु आउन सक्छन् । यसलाई प्रजातान्त्रिक पार्टीभित्र केही मान्ने कुरा पनि छैन् । अन्ततः हाम्रो उद्देश्य एउटै हो, हामी पुग्ने विन्दु एउटै हो । त्यसैले एकजुट भएर जाने परिस्थिती निर्माण गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *