फाइनलमा भारतलाई जित्न नसकेपछि प्रशिक्षकद्वारा राजिनामा, २ खेलाडीको सन्यास

काठमाडौँ । घरेलु मैदानमा जारी १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाली टोली पराजित भएपछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आवद्ध हुने प्रतिक्रिया जनाए । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो । खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २–० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो । भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् । भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ । नेपाल १२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिने सपना यसपटक पनि अधुरै रह्यो ।

निरु र मनमायाँको सन्यास

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । सागको महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि दुवै खेलाडीले एकैपटक सन्यास लिएका हुन् ।

लामो समय देखि नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रहेका दुबै खेलाडीले अचानक सन्यास लिए । नेपालले रजत जितेसँगै निरु र मनमायाले सन्यास घोषणा गरेका हुन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *