एकल महिला उद्यमतर्फ आर्कषित

झापा । दमकका एकल महिलाहरु व्यावसायिक उद्यमशीलतामा आकर्षित भएका छन् । उनीहरुले आफ्नो सञ्जाल गठन गरी व्यावसायिक उद्यमशीलताका लागि आयमूलक काम थालेका छन् ।

एकल महिला समूह, दमक बनाएर सङ्गठित भएका उनीहरु केही महीनादेखि सेनिटरी प्याड उत्पादनमा सक्रिय भएका छन् । केही समयको तालीम पछि यहाँका एकल महिला सीपमूलक उद्यमशीलतामा आकर्षित हँुदै गएका छन् । समूहमा २९ वर्ष देखि ६५ वर्षसम्मका एकल महिला आबद्ध छन् । उमेर र अनुभवको विविधताले पनि समूहमार्फत एकअर्काका अनुभव आदानप्रदान, सीप आदानप्रदान र उद्यम सञ्चालनका लागि पनि सामूहिक भावना जागेको समूहका संयोजक सावित्रा प्रसाईंले बताउनुहुन्छ । सामूहिक रुपमा सीप सिकेको र उद्यमका लागि पनि सामूहिकरुपमा अभ्यास गरिरहेको उहाँको भनाइ छ । हाल नगरका २४ एकल महिला यस समूहमा आबद्ध छन् तर सामूहिक कामका लागि भने आधाजसो नियमित आउँछन् ।

दमक–५ की खेमकुमारी ओलीका अनुसार समूहमा आबद्ध महिलाले संयुक्तरुपमा सेनिटरी प्याड बनाउने गर्छन् । उत्पादित प्याड नगरपालिकाले खरीद गर्ने व्यवस्था गरेको उहाँ बताउनुहुन्छ । उत्पादित प्याडको बजारीकरण सुनिश्चित बनेपछि उहाँहरुको व्यावसायिक उद्यम प्रभावकारी बन्दै गएको हो ।

संयुक्तरुपमा यसको व्यावसायिक उत्पादनमा लागेपछि त्यसबाट प्राप्त आम्दानीलाई नियमितरुपमा बचतमा समेत सञ्चित गर्न थालिएको ओली बताउनुहुन्छ । सीप र आम्दानी नभएका महिलालाई भने संयुक्तरुपमा उद्यम शुरु गरेपछि आत्मविश्वास पनि बढेको छ । घरमा दिनभरि त्यसै बस्नुभन्दा यहाँ आएपछि सीप सिकेकाले यसैबाट आम्दानीसमेत गर्न सकिने हिम्मत बढेको दमक–१० की अम्बिका श्रेष्ठले बताउनुभयो । अहिले प्याड बनाइरहेको र आगामी दिनमा अन्य पोशाक बनाउनसमेत सिक्ने र यसैबाट थप आम्दानीसमेत गर्ने उहाँको योजना छ । उत्पादित प्याड बनाएको प्रतिगोटा रु ४० का दरले ज्याला पाउने नगरपालिकाले जनाएको छ ।

उनीहरुले बनाएका सबै प्याड नगरपालिकाले खरीद गर्दैछ । ती प्याड खरीद गरी नगरभित्रका विद्यालयमा विद्यार्थीको उपयोगका लागि प्रदान गर्ने नगर उपप्रमुख गीता अधिकारीले बताउनुभयो । बजारमा पाइने प्याड प्रयोग गरेपछि फाल्नुपर्ने र त्यो फाल्नका लागिसमेत समस्या हुने गरेको छ तर गुणस्तरीय कपडा र सिलाइबाट उत्पादन गरिएको यस प्रकारको प्याड पुनः प्रयोग गर्न मिल्ने भएकाले यसबाट छात्रालाई अध्ययनमा पनि सघाउ पुग्ने उहाँको भनाइ छ । गत वर्षदेखि नगरपालिका तथा केही संस्थाले समेत विद्यालयमा छात्राका लागि निःशुल्क प्याड वितरण गर्दैआएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *