डेंगु रोग प्रकोप बारे जानकारी गराउन सरकारलाई रुलिङ

काठमाडौँ । प्रतिनिधिसभाले डेंगु रोग प्रकोपका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “केही दिन यताको नियमति बैठकमा र विशेष गरेर आजको बैठकमा डेंगुको महामारी सम्बन्धमा माननिय सदस्यहरुको कुरा उठेको छ । यस सम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु । साथै यस विषयमा सदनलाई यथासिघ्र जानकारी गराउन निर्देशन गर्दछु । ”

केही दिनदेखि सांसदहरुले संघीय संसदका दुबै सदनमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् । बिहीबारको बैठकमा पनि सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन् । बैठकको शुन्य समयमा नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाका बैठकको शुन्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफुहरुले उठाउदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफुले विरोध जनाईरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिनुभएको थियो ।

उहाँले भन्नुभयो “डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसक्यौ । सभामुख महोदय , डेंगुको बारेमा यो सरकार बोल्दैन । अमेरिकाको सरकारले बोल्दियो । अमेरिकनहरु नेपालम डेंगु आतंक छ नजानु । भएका अमेरिकन नागरिकहरु नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ? त्यसकारण सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्री डेंगुको पीडीत, आखा विशेषज्ञ सन्दुक रोहित डेंगुको पीडीत, अब हामी मध्ये कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो सभामुख महोदय ? अबिलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलिङ गरियोस् । अहिलेनै स्वास्थ्यमन्त्री यहाँ आएर यसको बारेमा सरकारको आधिकारीक धारणा के हो ? डेंगु के हो ? कसरी लाग्छ ? उपचार कसरी गर्ने हो ? बच्ने उपाय के हो ? मरेका लाई के गर्ने ? सरकारको आधिकारीक धारणा ल्याईयोस् होइन भने मेरो विरोध रहने छ । सभामुख महोदय, रुलिङ चाहन्छु । ”

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसंग माग गर्नुभयो । डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय , इमिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धीत निकाय गम्भीर बन्न नसकेको भन्दै उहाँले तत्काल सर्वसाधरणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “महामारी हो भने सम्पुर्ण साधन स्रोतको परिचालन गरि ‘हेल्थ इमरजेन्सी ’घोषणा गरि महामारीलाई समाप्त पार्न पर्यो । प्रकोप हो भने इपिडियोमियोलोजि महाशाखा के हेरेर बसेको छ ? के सुतेर बसेको छ ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ ? जनतामा यो आतंक , भय तुरुन्त समाप्त पार्ने काम गरियोस् । ”
नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको प्रकोपले महामारीको रुप लिईसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेबाट सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *