विषादीयुक्त फलफुल तरकारीको आयात रोक्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले विषादीयुक्त फलफुल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफुल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफुल तथा तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गर्नुभयो । उहाँले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्ने सुझाव दिनुभयो भने कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क दिनुभयो । सांसद कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमीकरण बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । सांसद उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको आरोप लगाउनुभयो । सांसद खेमप्रसाद लोहनीले सीतापाइला –धार्के सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *