शेरबहादुर देउवाकाे जीवनी असिग्राम मटेलादेखि सिंहदरबारसम्म

शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस— ५ मटेला, रुवाखोलामा जन्मिनुभएको थियो । देउवा बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोरा हुनुहुन्छ । उहाँका ६ जना दाजुभाइ र ५ बहिनी हुनुुहुन्छ । उहाँकी धर्मपत्नी आरजु देउवा सांसद हुनुहुन्छ । उहाँका एकजना छोरा हुनुहुन्छ ।

कक्षा ८ कक्षा सम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले डोटीमा कक्षा ९ र १० सम्म पढ्नुभयो । उहाँले २०१९ सालमा एसएलसी पास गर्नुभयो । एसएलसीपछिको पढाई काठमाडौंमा गर्नुभएका प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गर्नुभएको छ ।

उहाँ २०१७ सालदेखि राजनीतिमा लाग्नुभएको हो । २०३६ सालको आन्दोलन र जनमत संग्रहमा पनि उहाँ सक्रियतापूर्वक लाग्नुभयो । देउवा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा देउवा युवा नेताका रुपमा चर्चित हुनुभयो । २०४६ मा चुलिएको देउवाको चर्चा २०४८ सालको आम चुनावमा पनि देखियो । २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँ २०४८ सालमा गृहमन्त्री हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालको संविधानसभा चुनावमा डडेल्धुराबाट जित्नुभयो ।

२०५९ सालमा कांग्रेस पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गरी देउवा त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहेपनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । उहाँ २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभएको हो ।

चौथोपटक सम्म प्रधानमन्त्रीको यात्रा
२०५१ सालको मध्यावधी चुनावमा एमाले सवैभन्दा ठूलो पार्टीका रुपमा सरकार चलाइएरहेको थियो । प्रमुख प्रतिपक्षमा कांग्रेस थियो । प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता बन्न रामचन्द्र पौडेल, खुमबहादुर खड्का लगायत आधा दर्जन नेताले उम्मेद्वारी दिएपनि पछि सबैले उम्मेद्वारी फिर्ता लिएपछि देउवा निर्विरोध संसदीय दलको नेता बन्नुभयो ।

संसदीय दलको नेताको पदले उहाँले पहिलोपटक प्रधानमन्त्री बन्ने ढोका खोल्यो । देउवाकै अग्रसरतामा मनमोहन अधिकारी विरुद्धको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो ।

२०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । उहाँको कार्यकाल त्यसपटक ०५९ साल असोज १८ सम्म रह्यो । देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त गरेका थिए । नेपालको इतिहासमा राजाबाट विश्वेश्वरप्रसाद कोइराला र देउवालाई मात्र राजाले वर्खास्त गरेका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाएपछि शेरबहादुर देउवाको पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धमा खटपट शुरु भयो । पार्टीभित्रको अन्तरसंघर्ष चर्कियो र शेरबहादुर देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो र सभापति हुनुभयो । देशमा माओवादी द्धन्द्व उत्कर्षमा पुगेको र राजाले सत्ता हातमा लिएका बेला देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो ।

केही दलहरुले विरोध गरिरहेको अवस्थामा प्रतिगमन आधा सच्चियो भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेर शेरबहादुर देउवाको सरकार बनेको थियो । यसको चौतर्फी आलोचना पनि भयो । तर तत्कालीन राजा ज्ञानेन्द्रले उहाँलाई तोकिएको समयमा चुनाव गराउन नसकेकाले असक्षम रहेको विल्ला भिराउँदै ०६१ साल माघ १९ गते कु मार्फत बर्खास्त गर्नुभयो । त्यसपछि देउवालाई केही समय नजरबन्दमा पनि राखिएको थियो ।

नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ३८८ मत सहित चाैथाे पटक प्रधानमन्त्री बन्नुभयाे । विपक्षीमा १७० मत खसेको थियो । जम्मा ५५८ मत खसेको थियो ।

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत दशेको भ्रमण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *