नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

शेरबहादुर देउवाकाे जीवनी असिग्राम मटेलादेखि सिंहदरबारसम्म
शेरबहादुर देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस— ५ मटेला, रुवाखोलामा जन्मिनुभएको थियो । देउवा बुबा श्रीप्रसाद र आमा द्रोपदीदेवीका जेठा छोरा हुनुहुन्छ । उहाँका ६ जना दाजुभाइ र ५ बहिनी हुनुुहुन्छ । उहाँकी धर्मपत्नी आरजु देउवा सांसद हुनुहुन्छ । उहाँका एकजना छोरा हुनुहुन्छ ।
कक्षा ८ कक्षा सम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले डोटीमा कक्षा ९ र १० सम्म पढ्नुभयो । उहाँले २०१९ सालमा एसएलसी पास गर्नुभयो । एसएलसीपछिको पढाई काठमाडौंमा गर्नुभएका प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह पूरा गर्नुभएको छ ।
उहाँ २०१७ सालदेखि राजनीतिमा लाग्नुभएको हो । २०३६ सालको आन्दोलन र जनमत संग्रहमा पनि उहाँ सक्रियतापूर्वक लाग्नुभयो । देउवा कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनमा देउवा युवा नेताका रुपमा चर्चित हुनुभयो । २०४६ मा चुलिएको देउवाको चर्चा २०४८ सालको आम चुनावमा पनि देखियो । २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँ २०४८ सालमा गृहमन्त्री हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालको संविधानसभा चुनावमा डडेल्धुराबाट जित्नुभयो ।
२०५९ सालमा कांग्रेस पार्टी विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गरी देउवा त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहेपनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । उहाँ २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभएको हो ।
चौथोपटक सम्म प्रधानमन्त्रीको यात्रा
२०५१ सालको मध्यावधी चुनावमा एमाले सवैभन्दा ठूलो पार्टीका रुपमा सरकार चलाइएरहेको थियो । प्रमुख प्रतिपक्षमा कांग्रेस थियो । प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता बन्न रामचन्द्र पौडेल, खुमबहादुर खड्का लगायत आधा दर्जन नेताले उम्मेद्वारी दिएपनि पछि सबैले उम्मेद्वारी फिर्ता लिएपछि देउवा निर्विरोध संसदीय दलको नेता बन्नुभयो ।
संसदीय दलको नेताको पदले उहाँले पहिलोपटक प्रधानमन्त्री बन्ने ढोका खोल्यो । देउवाकै अग्रसरतामा मनमोहन अधिकारी विरुद्धको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो ।
२०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । उहाँको कार्यकाल त्यसपटक ०५९ साल असोज १८ सम्म रह्यो । देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त गरेका थिए । नेपालको इतिहासमा राजाबाट विश्वेश्वरप्रसाद कोइराला र देउवालाई मात्र राजाले वर्खास्त गरेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाएपछि शेरबहादुर देउवाको पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धमा खटपट शुरु भयो । पार्टीभित्रको अन्तरसंघर्ष चर्कियो र शेरबहादुर देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो र सभापति हुनुभयो । देशमा माओवादी द्धन्द्व उत्कर्षमा पुगेको र राजाले सत्ता हातमा लिएका बेला देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो ।
केही दलहरुले विरोध गरिरहेको अवस्थामा प्रतिगमन आधा सच्चियो भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेर शेरबहादुर देउवाको सरकार बनेको थियो । यसको चौतर्फी आलोचना पनि भयो । तर तत्कालीन राजा ज्ञानेन्द्रले उहाँलाई तोकिएको समयमा चुनाव गराउन नसकेकाले असक्षम रहेको विल्ला भिराउँदै ०६१ साल माघ १९ गते कु मार्फत बर्खास्त गर्नुभयो । त्यसपछि देउवालाई केही समय नजरबन्दमा पनि राखिएको थियो ।
नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ३८८ मत सहित चाैथाे पटक प्रधानमन्त्री बन्नुभयाे । विपक्षीमा १७० मत खसेको थियो । जम्मा ५५८ मत खसेको थियो ।
देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत दशेको भ्रमण गर्नुभएको छ ।