फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

राजविराज (सप्तरी) । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसेको बताउनुभएको छ । उहाँले दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको स्पष्ट पार्नुभयो ।

सप्तरीको राजविराजमा आज साँझ सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले निर्वाचनबारे कुनै शङ्का छैन र निर्वाचन देशभर एकै चरणमा हुन्छ भन्नुभयो ।

देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उहाँले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा  निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सकारको दायित्व भएको बताउनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो, “निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल ‘म्यान्डेट’का साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ ।”

गृहमन्त्री अर्यालले, “राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोलसमेत मजबुत हुँदै गएको सङ्केत गरेको छ, पहिलेजस्तो वातावरण नराम्रो छैन, अहिले निर्वाचनको माहोल धेरै सुदृढ हुँदै गएको छ ।”

उहाँसँगै सप्तरी आउनुभएका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले तोकिएकै मितिमा धाँधलीमुक्त चुनाव हुने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेकाले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *