एसईई उत्कृष्ट मानषी गौतमलाई ४० हजार राशिको पुरस्कार प्रदान

काठमाडौँ । काठमाडौंको शंखमूलस्थित अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुल ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयभरिबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने मानषी गौतमलाई साउन २ गते शुक्रवार आयोजित एक विशेष कार्यक्रमबीच ४० हजार नगदराशिको पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पूर्वसांसद तथा विद्यालयका अभिभावक गणेश दुलाल हुनुहुन्थ्यो ।

हरेक वर्ष प्रदान गरिने २० हजार राशिको ‘प्रसिद्ध कँडेल स्मृति एसईई उत्कृष्ट विद्यार्थी पुरस्कार’ रकममा विद्यालयका तर्फबाट समेत उत्तिकै रकम थप गरी हरेक वर्ष प्रदान गरिने २० हजार राशिको थप ‘एआईए प्रोत्साहन पुरस्कार’ गरी कुल ४० हजार राशिको पुरस्कार प्रदान गरिएको कुरा विद्यालयका प्राचार्य विष्णुप्रसाद अर्यालले बताउनुभयो । ‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ विगत ७ वर्षदेखि नियमितरूपमा प्रदान गरिँदै आएको कुरा पुरस्कारका संस्थापक तथा विद्यालयका प्रमुख प्राज्ञिक निर्देशक डा. चेतनाथ कणेलले बताउनुभयो ।

विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा यो वर्ष एसईईमा उत्तीर्ण ६७ जना छात्रछात्राहरू, उहाँहरूका अभिभावकहरू, आमन्त्रित अतिथिहरू, सम्पूर्ण शिक्षकशिक्षिका तथा कर्मचारीहरू र हाल कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरू गरी करिब ३५० जनाको उपस्थिति थियो । कक्षा १० का विद्यार्थीहरूबाट विशेष सांगीतिक कार्यक्रमसमेत प्रस्तुत भएको सो कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मानपत्र तथा ‘मायाको चिनो’सहित सम्मान तथा विदाइ गरिएको थियो । “कुल ६७ जनामा सम्पूर्ण विद्यार्थी राम्रो ग्रेडमा उत्तीर्ण भएको र त्यसमा पनि ४९ जना (७३.१ प्रतिशत) ले ३ दशमलव ६ भन्दा माथि अर्थात् ‘ए प्लस’ नै ल्याएकोले औसतमा नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयको रूपमा एआईएलाई उभ्याउन सफल भएकोमा हामीलाई गर्व लागेको छ”, प्राचार्य अर्यालले मन्तव्यका क्रममा बताउनुभयो ।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा उपप्राचार्य खगेश्वर गिरीले गर्नुभएको थियो भने प्रमुख अतिथि दुलाल, अध्यक्ष ज्ञवाली, प्राचार्य अर्याल, प्रवन्ध निर्देशक विमल घिमिरेले सारगर्भित बधाई–मन्तव्य प्रकट गर्नुभएको थियो । साथै उत्कृष्ट विद्यार्थी मानषी गौतम तथा कक्षा १० का विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै साधना श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो । अनमोल ब्याङ्क्वेटमा सम्पन्न उक्त कार्यक्रमको व्यवस्थापनमा संस्थापक कार्यकारी निर्देशक शैलेन्द्रकुमार झा, संस्थापक प्राज्ञिक निर्देशक कृष्णप्रसाद गैरे तथा अन्य शिक्षक–शिक्षिका एवम् कर्मचारीहरू सक्रिय हुनुहुन्थ्यो ।

स्मरणीय छ, २०६३ सालमा स्थापित एआईएबाट हालसम्म करिब ९०० विद्यार्थीले एसएलसी÷एसईई उत्तीर्ण गरिसकेका छन् । स्व. प्रसिद्ध कँडेल यसै विद्यालयबाट २०६७ सालमा सर्वोत्कृष्ट भएको कुरा उहाँकी माता तथा पुरस्कार संस्थापिका सीता भण्डारी कँडेलले बताउनुभयो । उच्च शिक्षा अध्ययनको सिलसिलामा अमेरिकामा रहेको बेला २०७४ मा उहाँको असामयिक निधन भएको थियो ।

यसपटकको एआईएको ‘एसईई सम्मान कार्यक्रम २०८२’ १६औं संस्करणको कार्यक्रम रहेको कुरा प्राज्ञिक निर्देशक तथा परीक्षा संयोजक गैरेले बताउनुभयो । ‘यसपटक सर्वोत्कृट हुने छात्रा गौतमको जीपीए ३ दशमलव ९५ रहेको थियो भने ६७ जनाकै औसत जीपीए ३ दशमलव ६७ रहेको थियोे’, सञ्चालक गिरीले सगर्व बताउनुभयो । ‘एआईंएको निरन्तर प्रगति देख्न पाउँदा हामी अभिभावक तथा शुभचिन्तकहरूलाई पनि खुसी लाग्छ’, प्रमुअ अतिथि दुलालले भन्नुभयो । करिब तीन घण्टा चलेको सन्ध्याकालीन उक्त कार्यक्रमको अन्त्यमा सदाझैँ उपस्थित सबैलाई रात्रिभोजको आयोजना गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *