दिल भुषण पाठक साइबर अनुसन्धानको घेरामा प्रहरीले जारी गर्याे यस्ताे सूचना

काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्युरोले झापा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका दिल भुषण पाठकलाई अनुसन्धानका लागि उपस्थित हुन सूचना जारी गरेको छ।

गृह मन्त्रालय अन्तर्गत रहेको साइबर ब्युरोले मंगलबार एक सूचना जारी गर्दै पाठकलाई काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अनुमति अनुसार उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो।

‘दिलभूषण पाठकज्यू, प्रस्तुत विषयमा परिवर्तित नाम ‘साइबर ब्यूरो ५९ (२०८१/८२)’ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाईंविरूद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग पुर्‍याइदिनु हुन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ।

पत्रकार दिलभूषणले आफ्नो युट्युब च्यानलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिलटन होटलमा लगानी गरेको भन्दै सामग्री गरेपछि उनीविरूद्ध उजुरी परेको थियो।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले उनलाई तत्काल पक्राउ नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सूचना अनुसार पाठकमाथि साइबर अपराधसम्बन्धी फौजदारी कसूर अनुसन्धान भइरहेको छ। सूचना प्राविधिक (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न भएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न अदालतबाट अनुमति दिइएको हो।

प्रहरीका अनुसार झापा जिल्ला, गरामनी गा.वि.स. वडा नं. ९ का स्थायी बासिन्दा पाठक हाल काठमाडौँको धुम्बाराहीस्थित वडा नं. ४ मा बसोबास गर्दै आएका छन्।

साइबर ब्युरोले उनलाई सोधपुछका लागि उपस्थित हुन आह्वान गर्दै अनुसन्धानमा सहकार्य गर्न अनुरोध गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *