देश सिद्धाउनमा सबैको हात सरोबर, आरोप भने एउटालाई मात्रै !

रुषा थापा
सरकार भन्छ, ‘विदेशी पर्यटक बढ्यो ।’ रेमिट्यान्स र आम्दानी पनि बढ्दै गएको सरकारी दाबी छ । पर्यटक, रेमिट्यान्स र आम्दानी बढेको ठोकुवा गरिरहँदा अध्ययन वा विदेश घुमफिरको नाममा मासिक खर्बौ रकम बाहिरिएको भने सरकार बताउँदैन । सरकारी निकायकै तथ्यांकअनुसार पछिल्लो सात महिनामा अध्ययन र विदेश घुमफिरमा एक खर्ब १७ अर्ब रकम बाहिरिएको छ ।

जबकी यति रकम विदेशी पयर्टक, रेमिट्यान्सबाट संकलन गर्न सकिरहेको अवस्था छैन । अबको पाँच महिनामा पनि यति नै रकम बाहिरिने छ । अहिले पढ्ने नाममा लाखौं खर्चिएर विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । यसरी विदेश जानेहरु फर्किँदैन । कक्षा १२ सम्म देशभित्रै पढ्छन् । उनीहरुलाई अक्षर सिकाउने देशकै विद्यालय हुन्छन् । तर, जब देशको सेवा गर्नुपर्ने बेला आउँछ, तब राजनीतिक अवस्था, शिक्षामा खोट देखाउँदै उनीहरु विदेश पलायन हुन्छन् ।

आफ्नो देशको शिक्षालाई नराम्रो बताउँदै अध्ययनको निम्ति अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायत विकसित देश जान्छन् । त्यहाँ पुगेका अधिकांश नेपाल फर्किँदैनन् । त्यतै घरपरिवार बसाउँछन् । बहाना शिक्षा बनाएपनि उनीहरुको असली काम भने त्यहाँको ग्रिन कार्ड पाउनु हो । आफ्नो मातृभूमि छोडेर, नागरिकता त्यागेर, यहाँको पुख्र्यौली सम्पत्तिसमेत बेची लगेर नेपालीहरु अन्य देशको ग्रिन कार्डमा रमाउने क्रम बढ्दो छ ।

केही दिनअघि अमेरिकाले आठ जना नेपालीलाई हातमा हत्कडी र खुट्टामा नेल लगाइदिएर नेपाल छाडिदियो । अवैध बाटो हुँदै एक वर्षअघि अमेरिका पुगेका उनीहरुले लाखदेखि करोडौं रकम खर्चिएको पाइन्छ । अमेरिकाले अहिले धमाधम अवैध आव्रवासीलाई निकालिरहेको छ । पछिल्लो डेढ महिनामा ३८ जना नेपाली अमेरिकाबाट नेपाल डिपोर्ट भइसकेका छन् ।

अमेरिका, अस्ट्रेलिया भन्नासाथ नेपालीहरु मरिहत्ते गर्छन् । त्यहाँ पुगेमा ठूल्लै उन्नति, प्रगति हुने भ्रम आम जनमानसमा परेको छ । अहिले प्लस टु पास गर्नेबित्तिकै अभिभावक आफैं आफ्ना सन्ततिलाई विदेश पठाउने तयारी गर्छन् । उनीहरुको नजरमा विशेष गरी तीन वटा देश पर्छन्, अमेरिका, अस्ट्रेलिया र क्यानडा । यी देशले बाहिरी देशका नागरिकलाई ग्रिन कार्ड दिने भएकाले पनि अधिकांशको आँखा यसैमा पर्ने स्पष्ट हुन्छ ।

अब रोचक कुरा चाँहि आफ्नै देशभित्र केही गर्छुभन्दा अभिभावक, आफन्तले साथ दिदैंनन् तर अमेरिका, अस्ट्रेलिया जान्छु भनेपछि चाँहि ऋण दिनेहरुको लर्को नै लाग्ने गर्छ । अहिले सरकारले केही गरेन, राजनीतिक दलहरु स्वार्थमा केन्द्रीत भए भनेर चर्को विरोध भइरहेको छ । तर, सरकारको आलोचना गर्नुपूर्व नागरिक भएर हामीले गर्नुपर्ने के–के काम गयौं यसबारे पनि सोचौं । सन्ततिलाई देशमा बस्ने नदिने अनि आफन्तसँग चाँहि देश विकास भएन भन्दै गुनासो गर्न पाइन्छ । देश विकास गर्ने युवा हुन् । विडम्बना, अहिले हामी कहाँ युवा नै छैनन् । युवा सबै विदेशमा छन् । कोही वैदेशिक रोजगारका निम्ति त कोही अध्ययनको बहानामा ।

देशभित्र पर्याप्त रोजगारी छैन र यो कुरालाई नर्कान सकिँदैन । यद्यपि, मुलुकमा राम्रा राम्रा र गुणस्तरीय विद्यालय, कलेज त थुप्रै छन् । अनि किन पढ्ने नाममा यसरी विदेशिने विद्यार्थीको लर्को लागिरहेको छ ? देशका दक्ष जनशक्ति विदेशीको गुलाम बनिरहेका छन् । अझ विदेशमा बसेर उनीहरु आफ्नै मातृभूमिबारे नानाथरी भन्छन् । जो व्यक्तिले आफ्नो देश छोडिसक्यो, त्यसलाई नेपालबारे बोल्ने अधिकारी पनि हुँदैन ।

अनि कुन अधिकार प्रयोग गरी अमेरिका, अस्ट्रेलिया बसेर उनीहरु नेपालको विरोध गरिरहेका छन् ? विदेशी नागरिकता लिएर विदेशमै बसेर नेपालबारे नानाथरी भन्नेलाई अब सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ । किनकि मुलुकको बदनाम गर्ने अधिकार कसैलाई छैन । हो, राजनीतिक दलहरुले काम गरेनन् । नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थमै रमाए । तर, नागरिक भएर हामीले पनि के गयौं ? यसबारे सोच्न आवश्यक छ ।

अहिले देशभित्रै बसिरहेका नागरिकले देशको अवस्था र राजनीतिक दलविरुद्ध बोल्नु स्वभाविक हो । किनकि उनीहरुले मातृभूमि जस्तोसुकै भएपनि स्वीकारेर बसिरहेका छन् । राम्रो हुँदा बस्ने र नराम्रो हुँदा त्याग्ने गरेका छैनन् । यसैले, उनीहरु सरकार र दलको विरोधमा सडकमै उत्रिएपनि केही फरक पर्दैन । तर, आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर यहाँ आफन्त, छरछिमेकसँग भने देशबारे नानाथरी गर्ने अधिकार कसैलाई छैन ।

न अभिभावकलाई छ न तिनका विदेशमा भएका छोराछोरीलाई । अमेरिका, अस्ट्रेलियाको पिआर र ग्रिन कार्ड पाउनासाथ नेपाली नागरिकता त्यागिन्छ । नेपालमा भएको पुख्र्यौली सम्पत्तिसमेत बेचेर त्यतै लगिन्छ भने आफ्ना अभिभावकलाई पनि सँगै राखिन्छ । अहिले भ्रष्टाचार गरेको रकमले विदेशमा घरजग्गा किन्ने क्रम बढ्दो छ । अमेरिका, अस्ट्रेलिया छोराछोरी पठाउनेमा अधिकांश सरकारी कर्मचारी, व्यापारी र धनीमानी छन् ।

भ्रष्टाचार गरेर, राजस्व छलेर कमाएको कालोधनले अमेरिका, अस्ट्रेलियामा घर र गाडी किनिएको छ । त्यता गएको वर्ष दिन नपुग्दै छोराछोरीले घर, गाडी किनेको भन्दै आफन्त, छरछिमेकमा अभिभावकहरु फुर्ती लगाउँछन् । जबकी त्यो घर, गाडी यताबाट अभिभावक आफैंले पठाएको पैसाबाट किनिएको हुन्छ । अब रोचक कुरा चाँहि अमेरिका, अस्ट्रेलियाले दिएको नागरिकता अर्थात् ग्रिन कार्ड, पिआर खारेज गरिदिएमा नेपालीहरुको हालत के होला ? स्मरण रहोस् कि दिन जान्नेले लिन पनि सक्छ । हिजो आफ्नो देशमा पर्याप्त जनसंख्या नभएकाले अमेरिका, अस्ट्रेलियाले ग्रिन कार्ड र पिआर दिने नीति ल्यायो ।

विदेशी नागरिकता पाउने भन्नासाथ त्यहाँ जानेहरुको लर्को नै लाग्यो । अहिले यी देशमा जनसंख्या थेगिनसक्नु भएको छ । विकसित देशहरुले अरु देशका नागरिकलाई ग्रिन कार्ड र पिआरकै भरमा किने । तर, उनीहरुको रणनीति कसैले बुझ्न सकेनन् । विदेशीलाई नागरिकता दिएर आफ्नो देश विकास गराए । अहिले जनसंख्या बढ्दै गएपछि कठोर नीतिसमेत लिन थालिएको छ ।

भविष्यमा अमेरिका, अस्ट्रेलियाले विदेशीलाई दिएको ग्रिन कार्ड र पिआर खारेज गरिदिने निर्णय गर्न पनि सक्छन् । अनि तब के गर्छन्, त्यहाँ लाखौं खर्चिएर गएका र घरजग्गा, गाडी किनेका नेपाली ? नागरिकता नै खोसेपछि त्यहाँ किनेको घरजग्गा, गाडी काम लाग्दैन । त्यत्तै छोडेर फर्किनुपर्छ । नेपालीहरुको सोच कहिल्यै दीर्घकालीन हुन सकेन । उनीहरुले आजबारे मात्र सोचे । भोलिबारे कल्पनासमेत गर्दैनन् । तर, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरुले भविष्यबारे पहिल्यै नै सोच्छन् ।

आफ्ना नागरिकका लागि उनीहरु जे पनि गर्न सक्छन् । अन्य देशका नागरिक त उनीहरुको लागि कठपुतली मात्रै हुन् । केही दिनअघि राजधानीमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा लाखौंको संख्यामा मानिसहरु सडकमा उत्रिए । त्यसक्रममा भारतका बहालवाला मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि देखियो । यसबारे अहिले अनेकौं चर्चा भइरहेको छ । तर, भारतले एक हप्ता नाकाबन्दी गरिदिए जनता भोकभोकै बस्नुपर्छ भने नेताहरु देशै छोडेर भाग्नुपर्ने अवस्थासमेत आउन सक्छ । समग्रमा जनतादेखि नेता, कर्मचारी सबै मिलेर देश सिद्धाए । फरक यही छ कि कसैको यसमा कम हात छ त कसैको बढी ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *