सुवास नेम्वाङको निधनले राजनीतिक वृत्त शाेकमा

काठमाडाैं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले राजनीतिक दलका नेता तथा कार्यकर्ता स्तब्ध बनेका छन्।

राष्ट्रपति लगायत राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको जनाएका छन्। सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेलले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवार, गणतन्त्र पक्षधर तथा पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेम्वाङको निधनको खबरले मर्माहत भएको जनाएका छन्। उनले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

यस्तै, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। देउवाले सामाजिक सञ्जाल मार्फत नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेम्वाङको खबरले स्तब्ध एवं मर्माहत भएको जनाएका छन्। भट्टराईले भनेका छन्, आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ, मैले आत्मीय मित्र गुमाएको छु।

नेम्वाङको गएराति १ः३० बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो। सामान्य रुघाखोकी लागेर घरमै आराम गरिरहेका उनलाई गएराति हृदयघात भएको थियो। तत्कालै अस्पताल लगे पनि चिकित्सकले निधन भएको घोषणा गरेका थिए।

नेम्वाङ निधन भएको खबर पाउने बित्तिकै प्रधानमन्त्री दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

यसैगरी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायत राजनीतिक दलका नेताहरू अस्पताल पुगेर दुःख व्यक्त गरेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *