शालीन राजनीतिज्ञको शान्त महाप्रस्थान, गृहजिल्ला शोकमग्न

इलाम । इलामका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताका प्रिय मान्छेका रूपमा परिचित सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले गृहजिल्ला शोकमग्न बनेको छ।

नेम्वाङ २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलका उपनेता एवं उपाध्यक्ष थिए।

राष्ट्रिय राजनीतिमा इमानदार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए। इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिएका थिए।

२०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परेका थिए। २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य रहेका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए।

२०५६ सालको संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए। दोस्रो जनआन्दोलन २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए।

२०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष बनेका थिए। संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए। उनी चार पटक सभामुख हुँदा सधैं सर्वसम्मत नै बने।

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्लाका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता, विद्यार्थी लगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति बेहोर्नुपरेको उनीहरूको भनाइ छ।

इलाम-१ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए। उनले देश र जनताका लागि पुर्‍याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए।

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले नम्वाङलाई इलामले सधैं सम्झिरहने बताए। “पटक पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ,” उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैं प्रिय भएरै बिदा हुनुभयो।”

“उहाँ पार्टीको मात्र नभएर सारा इलामवासीको नेता हुनुहुन्थ्यो,” नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, “उहाँको अभाव नेपाली राजनीतिमा सधैं खड्कनेछ।”

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थी समेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्। इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, “म धेरै राजनीति त जान्दिनँ, तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ। एकाबिहानैको खबरले स्तब्ध भएँ।”

नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिस्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताए। “कम्युनिस्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो,” उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिस्ट आन्दोलन नै कमजोर हुन सक्ने देख्छु।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “उहाँले देखाएको बाटोमा इलाम अघि बढ्नेछ। उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ।” -रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *