What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टिकटकमा अब लेखेर मात्र पनि पोस्ट गर्न मिल्ने
What To Know
- प्रयोगकर्ताहरूले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरू प्रयोगकर्ताद्वारा प्रेषित भिडिओमा आफ्नो प्रतिक्रिया थपेर दोहोरीजस्तै बनाइएको सामग्रीलाई ‘ड्युएट’ भनिन्छ।.
- .
काठमाडाैं । ठूला सामाजिक सञ्जाल कम्पनीहरूबीच प्रतिस्पर्धा चर्किएको बेला चिनियाँ स्वामित्वमा रहेको भिडिओ स्ट्रीमिङ एप टिकटकले अब लेखेर पनि पोस्ट गर्न मिल्ने नयाँ सुविधा दिने बताएको छ।
टिकटकका अनुसार उक्त नयाँ फीचर प्रयोग गरेर मानिसहरूले “नयाँ तरिकाले आफूलाई अभिव्यक्त” गर्न सक्छन्।
स्पोटिफाई र एपल म्यूजिकसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले यही महिना टिकटकले सङ्गीत स्ट्रीम गर्ने नयाँ सेवा सुरु गरिसकेको छ।
सोमवार इलोन मस्कको स्वामित्वमा रहेको ट्विटरले नीलो चरा देखिने लोगो परित्याग गर्दै रोमन अक्षर एक्स देखिने श्यामश्वेत लोगो प्रयोग गर्न थालेको छ।
टिकटकका अनुसार अब प्रयोगकर्ताहरूलाई तीनटा विकल्प दिइने छ। तदनुरूप उनीहरूले फोटो, भिडिओ वा टेक्स्ट पोस्ट गर्न पाउने छन्।
प्रयोगकर्ताहरूले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरू प्रयोगकर्ताद्वारा प्रेषित भिडिओमा आफ्नो प्रतिक्रिया थपेर दोहोरीजस्तै बनाइएको सामग्रीलाई ‘ड्युएट’ भनिन्छ।
“यी फीचरहरूले तपाईँका टेक्स्ट पोस्टहरूलाई भिडिओ वा फोटो पोस्टजस्तै गतिशील र अन्तरक्रियात्मक बनाउने छन्,” टिकटकले भनेको छ।
अहिले टिकटक चीनको बाइटड्यान्स कम्पनीको स्वामित्वमा छ।
उक्त कम्पनीले भर्खरै ब्रजिल र इन्डोनेशियामा ‘टिकटक म्यूजिक’ नामक सङ्गीत स्ट्रीमिङ सेवा सुरु गरेको छ।
गत साता उसले सिङ्गापुर, मेक्सिको र अस्ट्रेलियामा पनि उक्त सेवाको बीटा भर्सन सुरु गरेको छ।
टिकटकका एक प्रवक्ताका अनुसार उक्त सेवाबाट प्रयोगकर्ताहरूले “टिकटकमा फेला पारेको सङ्गीत सुन्न, शेअर गर्न र डाउनलोड गर्न तथा आफ्नो टिकटक समुदायमा आफूलाई मन परेको गीत र कलाकार शेअर गर्न” पाउने छन्।
उक्त एपले केही प्रयोगकर्तामाझ नयाँ ‘ल्यान्डस्केप मोड’सहित नयाँ फीचरहरू परीक्षण गरिरहेको छ।
सन् २०२१ टिकटक सबैभन्दा लोकप्रिय अनलाइन मञ्च बनेको थियो।
टिकटक प्रयोग गर्ने मानिसको सङ्ख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेहरूको सङ्ख्यालाई उछिनेको थियो।
सोही वर्ष टिकटकले आफ्ना सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्बभन्दा बढी भएको जनाएको थियो।
इन्स्टाग्रामको स्वामित्व भएको मेटा र अहिले नयाँ नाम एक्स दिइएको ट्विटरबीच केही सातादेखि प्रतिस्पर्धा चुलिएको छ।
यही महिना मेटाले सुरु गरेको थ्रेड्स नामक सञ्जाल एपल र एन्ड्रोइड एप स्टोरमा उपलब्ध भयो।
उक्त एप यूकेसहित १०० वटा देशमा प्रयोग हुन थालेको छ।
मेटा कम्पनीका मालिक मार्क जकरबर्गले सुरु भएको पाँच दिन थ्रेड्स प्रयोग गर्नेहरूको सङ्ख्या १० करोड नाघेको बताएका थिए।
यही सातादेखि मस्कले ट्वीटलाई “एक्स” भनिनेगरी ट्विटरलाई एक्स बनाएका छन् र त्यसको लोगो पनि फेरिदिएका छन्। बीबीसी