बिछोडिए प्रचण्ड र माकुने : पेरिस डाँडाबाट निस्किदै गर्दा नेपालले के भने यस्तो !

काठमाडौं । पेरिस डाँडामा बिदाई बैठक बसेर प्रचण्ड र माधव नेपाल अन्ततः आआफ्नो बाटो लागेका छन् । केपी ओलीलाई सत्ताबाट हटाउन भगिरथ प्रयास गरेर पनि असफल भएपछि नयाँ रणनीति बनाउँदै प्रचण्ड र माकुने बिछोडिएका हुन् ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । योसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् ।

विकसित नयाँ राजनीतिक अवस्थामा सँगै मिलेर जान जटिल हुने भएपछि पेरिस डाँडामा विदाई बैठक बसेर एमाले एमालेतिर र माओवादी केन्द्र माओवादी केन्द्रतिरै जाने निष्कर्षमा पुगेका हुन् ।

बैठक सकेर भारी मन लिएर बाहिरिँदै गर्दा माधव नेपालले तितोपिरो बिर्सेर अगाडि बढ्ने बताएका छन् । बैठकपछि बाहिरिनेक्रमा ‘अब कसरी अगाडि बढ्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले सबै सम्भावनाको छलफल र अध्ययन गरिरहेका छौं । मुलुकलाई सकारात्मक दिशामा लैजाने, राष्ट्रियताको हित र लोकतन्त्रको सुदृढीकरण गर्ने, समाजको रुपान्तरण अघि बढाउने हाम्रो सोच हुन्छ । हामीले अब तितोपिरो मनमा राखेर, पुरानो इतिहासका कुराहरु कोट्याएर जानु हुँदैन भन्ने सोचेका छौं ।’

‘अब एमाले एमालेतिर, माओवादीतिर हुने हो ?’ भन्ने अर्को प्रश्नमा जवाफ दिँदै नेपालले भने, ‘सर्वोच्च अदालतको फैसलाले त्यो भनेको छ । त्यसमा हामी विभिन्न पक्षको अध्ययन गरिरहेका छौं । अध्ययन गरिसकेर, निर्वाचन आयोगले पठाउने पत्र हेरेर.. त्यसमा पनि जटिलताको कुरा छ । एमाले र माओवादी केन्द्रको नाममा अर्कैले पार्टी दर्ता गरेको छ भन्ने सुन्नमा आएको छ । त्यसैले सजिलै पछाडि फर्किने अवस्था बन्छ कि बन्दैन । जम्मै पक्षबारे अध्ययन र परामर्श गछौं । कानुनी पक्षदेखि सबै पक्षको बारेमा अध्ययन गरेर निस्कर्ष निकाल्छौं ।’

उनले आगामी दिनमा पनि लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्ने बताएका छन् । तत्काल पार्टी आआफ्नो बाटो लागे पनि फेरि मिलेर अघि बढ्ने उनको भनाई छ ।

‘जोसुकै, जुनसुकै ठाउँमा बसे पनि वामपन्थि आन्दोलनलाई एकीकृत बनाउने सशक्त बनाउन र लोकतन्त्रका मूल्य-मान्यतालाई ध्यानमा राखेर लोकतान्त्रिक शक्तिसँगको सहकार्य निरन्तर जारी रहनेछ । कुनै एउटा विषयवस्तुमा मात्रै सिमित रहने सोचमा छैनौं’ उनले भने ।

पार्टी फरक भइसक्यो नि भन्ने पत्रकारको जिज्ञाशा नेता नेपालले भने, ‘हाम्रो हृदय विशाल छ । विशाल हृदयमा सबै अटाउँछन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *