अब रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *