बीरगञ्जको नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

बीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगञ्जमा आन्दोलनरत एमबीबीएस अध्ययनरत विद्यार्थीमाथि शुक्रबार राति कुटपीट भएको छ । अतिरिक्त शुल्क फिर्ताको माग राख्दै कलेजको मुलगेट अगाडि धर्नामा बसेका विद्यार्थी साँझ होस्टेल फर्किने क्रममा गेटमै उनीहरुमाथि हातपात भएको हो । होष्टेल परिसरमा रहेका व्यवस्थापन पक्षका केही युवा र एमबिबिएस चौथौँ वर्षका केही विद्यार्थी मिलेर आन्दोलनरत विद्यार्थीमाथि हातपात गरेको एक विद्यार्थीले बताए । उनीहरुले छात्रालाई दुब्र्यवहार समेत गरेका थिए ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म धर्नामा बसेका उनीहरु धर्ना सकेर होस्टल जाने क्रममा कुटपीट भएको पीडित विद्यार्थीले बताएका छन् । राति १० बजेसम्म हार गुहार गर्दा पनि मेडिकल कलेज सञ्चालकले होस्टल छिर्न नदिएको ११ बजे सञ्चारमाध्यममा खबर आउन थालेपछि गेट खोलिएको आन्दोलनरत एक विद्यार्थीले बताए ।

कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित भए पनि मुकदर्शक बनेको विद्यार्थीहरुको गुनासो छ । प्रहरी प्रशासनलाई यसअघि पनि पटकपटक कलेज परिसरमै कुटिएको गुनासो गर्दा पनि कुनै कारबाही नभएको विद्यार्थीले आरोप लगाएका छन् ।

तोकेको सीमाभन्दा बढी रकम अशुलेको विरोधमा विद्यार्थी आन्दोलित बनेपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले १५ दिनभित्र शुल्क फिर्ता गर्न चेतावनी दिएको छ । शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने बताएको छ । सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेजले टेरेका छैनन् । विगत एक महिनादेखि विद्यार्थी आन्दोलनरत छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *