उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदै

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम रहेको जानकारी दिनु भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कार्तिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन । उनीहरुको अन्तिम नामावली आज अपरान्ह पाँच बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता श्रेष्ठले भोली(सोमबार) बिहान ११ गतेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको पनि स्मरण गराउनु भयो । यता, स्थानीय तहको निर्वाचनका लागि भने आगामी कार्तिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुनेछ ।

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसीर ५ गतेदेखि ११ गतेसम्म संचालन गर्दैछ । आयोगका प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा २ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । नमुना मतदान समेत गरेर सो उपनिर्वाचनको मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोगको तयारी छ ।

आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचय पत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान पनि गरिसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *