रातारात सिँगारिँदै काठमाडौँ, तीनकुने चिटिक्क पार्न कहाँबाट ल्याइयो दुबो र फूल

काठमाडौँ । सर्वसाधरणलाई महान चाड वडा दशैँ मनाउने चटारो छ । देश दशैँमय बनेको छ । सुख खोज्न सहर छिरेकाहरु खुसी खोज्न दशैँको बाहानामा गाउँघर फिर्किएका छन् । तर यतिबेला सरकारलाई भने सुनसान बन्दै गएको काठमाडौँ सिँगार्न भ्याइनभ्याइ छ । खासमा दशैँ आएर होइन चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको नेपाल भ्रमण पक्का भएसँगै सरकारले सीको स्वागतको तयारी स्वरुप यो तामझाम तीब्र पारेको हो । यही मेसोमा काठमाडौँ सिगार्ने कामको असारे चटारोले काठमाडौँ अनिदो छ । सरकारका विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारोमा ब्यस्त छन् ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति अझै तय भएको छैन । सम्भवतः असोज २७ गते सी छोटो अवधिको लागि काठमाडौँ आइपुग्ने अनुमान छ । तर सरकार सी को स्वागतका लागि काठमाडौँ सिँगार्ने काममा दिनरात नभनेर लागि परेको छ । रङरोगन गरेर रातारात सिँगार्ने र चिटिक्क पार्ने काम धमाधम भइरहेको छ ।

काठमाडौंको मुख्य सडकहरु टालटुल र रङ्गरोगन गर्न भ्याइनभ्याइ छ भने तीनकुने पार्क पनि वरिपरि माटोको ड्याङ बनाई बोट विरुवा तथा दुबो लगाएर हरित पार्क बनाउन काठमाडौं महानगरपालिका ब्यस्त छ । बाहिरी आवरण हेर्दा लाग्छ तीन कुने यही हो र ? जग्गा मुआब्जा बिबादले अलपत्र परेको बुद्धपार्क बनाउने योजना यदि पूरानो कार्यतालिका अनुसार काम भएको भए अहिलेको देखावटी क्षणिक सुन्दरता भन्दा धेरै सुन्दर र राम्रो हुने थियो तिनकुने पार्क ।

यतिबेला सिंगार पटारका लागि लार्खौ रकम खर्चेर ठेकेदारहरुलाई जिम्मा लगाइएको छ । फूल तथा बोटबिरुवा रोप्ने जिम्मा पाएका गौतम नर्सरीका रबिन गौतमका अनुसार काठमाडौं महानगरपालिकाले २५ लाख बराबरको ५०० भन्दा बढी १२ प्रजातिका बोट विरुवा तथा दुबो लगाउने जिम्मा दिएको छ । गौतमका अनुसार अलपत्र पार्कको छेउछाउ ढकमक फूल र हरियालीले चिटिक्क पारिए पनि पार्कको भित्र भाग भने पहिलेकै घाँसेमैदान यथावत रहने छ । बाहिरी पत्रमा २० हजार स्क्वायरफिट दुबो लगाइने गौतमले जानकारी दिए ।

सीको आवतजावत हुने सडकको स्तरोन्नति र रंगरोगनको काम तीव्र रूपमा भइरहेको छ । मुख्य सडकको टालटुल रङ्गरोगन र भग्नावशेष तथा निर्माण सामाग्रीले अस्तब्यस्त बनेको काठमाडौँ बिभिन्न क्षेत्र ढाकछोप गर्ने काम भइरहेको छ । जनताले बारम्बार धुँवा धुलोको सास्ती भयो भन्दा पनि नसुनेका सरकार सी भ्रमणका लागि काम चलाउन काम गर्न कस्सिएर लागेको छ । धुलो बढार्ने सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम हुँदैछ । शनिबार फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटिएका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका मुख्य मुख्य ठाउँहरुको बाटो टालटुल मर्मत गर्ने जिम्मा जयप्रकाश लक्ष्मी कन्ट्रशनलाई दिएको छ ।

मुख्य रूपमा विमानस्थल परिसर, विमानस्थलदेखि सोल्टीमोडसम्म र राष्ट्रपति भवन शितल निवास क्षेत्रको बाटो मर्मत सम्भारको कामलाई प्राथमिकतामा राखेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

सडक पेटीमा नेपाल चिनाउने फ्लेक्स बोर्डले सजाउने काम भइरहेको छ । त्यसको जिम्मा आउट फिट प्रालिले पाएको छ । यसरी फ्लेक्स बोर्ड राख्न मात्रै ४० लाख खर्च गरिँदै छ । यो त्यही कम्पनी हो यसअघि बिमिस्टेक सम्मेलनका क्रममा यस्तै बोर्ड राख्ने ठेक्का पाएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *