कर उठाउने नै हो भने एनसेलसँग उठाऔँ : सांसद त्रिपाठी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दरमा सर्वाधिकमा पर्ने भन्दै उहाँले औचित्यपुर्ण करको व्यवस्था गर्न माग गर्नुभएको हो । न्यायलयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दे उहाँले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “कर उठाउने नै हो भने एनसेल संग उठाऔ । जसलाई अदालतले घरि उठाउने घरि रोक्ने भन्छ । त्यताबाट उठाऔ । अदालतकै फैसलाको आधारमा झण्डै झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ । ”

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियता संगै करको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै उहाँले संकलित कर विकास खर्चमा प्रयोग गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । सिमा क्षेत्रमा भारतबाट आउने गाडीलाई दिदै आएको सुविधा कटौति गर्ने काम गरिएकोमा पनि उहाँले आपत्ती जनाउनुभयो । अनलाईनको नाममा त्यस्ता सवारी साधनलाई दिदै आएको सुविधा कटौती गर्ने कानुन सर्वसाधरणमाझ मुल्य वृद्धि र सामाजिक सद्भाव विथोल्ने कानुनको रुपमा देखिएको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला काठमाण्डौको जग्गा अतिक्रमणको विषयमा अध्ययन गर्न पुर्व सचिव राम बहादुरको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएकोमा पनि आपत्ती जनाउनुभयो । सो प्रतिवेदनमा १८ हजार ९ सय ४१ रोपनी र २ आना ३ पैसा जग्गा अतिक्रमित भएको उल्लेख भएको र अतिक्रमणमा उच्च वर्गकै संलग्नता रहेकाले उनीहरुकै दबाबमा सरकारले प्रतिवेदन सार्वजनिक गर्न नसकेको दाबी पनि उहाँले गर्नुभयो । उहाँले समिति गठन गर्ने, प्रतिवेदन बनाउने तर र सार्वजनिक नगर्ने परम्परागत रोगको अन्त्य गर्दै गिरिशचन्द्र लाल आयोग लगायत विगतका सपुर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृति विरुद्ध भएको भन्दै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने भएकाले दुखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उहाँले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गर्नुभयो ।

उहाँँले भन्नुभयो “बारम्बार किन सरकारले विवादित कुरा ल्याउँछ ? सरकारको अहिले यति साख गिरेको छ । हामीलाई चिन्ता लागेको छ । यस्तै यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।”

सरकारका पछिल्ला निर्णयले पञ्चायतको पुनरावृत्ती जस्तो देखिएको भन्दै उहाँले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाएर राष्ट्रिय गान प्रति सम्मान भन्दा अपमान हुने र गरिमा घटाउने काम हुने भन्दै त्यस तर्फ सरकारलाई सचेत गराउनुभयो ।
केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *