प्रदेश स्तरमा युवा सिप केन्द्रको स्थापना गर्न युवाहरुको माग

बुटवल । पाँच नम्बर प्रदेशका युवाहरुले उद्यमशिलता र रोजगारीको वातावरण सिर्जना गर्न प्रदेश स्तरमा युवा सिप केन्द्रको स्थापना गर्नुपर्ने  माग गरेका छन् । “युवा नीति र कार्यक्रमको दिगोपनाको लागि युवा तथा सञ्चार विषयक प्रदेश स्तरीय संवाद कार्यक्रममा” सहभागी युवाहरुले १३ बुदे घोषणा पत्र जारी गर्दै प्रदेश र स्थानीय तहमा युवा सम्बन्धी नीति निमार्ण गरी कार्यान्वयन गर्नुपर्ने लगाएतका गरेका छन् ।

नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजनसहित युवासँग सम्बन्धित राष्ट्रिय युवा परिषदको हरेक नीति तथा कार्यक्रमप्रति जवाफदेही हुदै सबै युवाहरु अर्थपूर्ण सहभागितासहित प्रवर्द्धनमा जोड दिने समेत सहभागी युवाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमा युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङगेलले समृद्ध राष्ट्रको निमाण युवालाई आत्मनिर्भर र राज्यको हरेका अङ्गहरुमा युवाको अर्थपूर्ण सहभागिता विना सम्भव नहुने बताउनुभयो । “मूलुकको समृद्धिका लागि राज्यका हरेक क्षेत्रमा युवाहरुको सहभागिता हुनु आवस्यक छ ।” उहाँले भन्नुभयो, “युवा परिचालन वर्षलाई कृषि उत्पादन, उद्यामशिलता प्रवद्धन, पर्यटन र सामाजिक विकाससँग जोडेर राष्ट्रव्यापी रुपमा अगाडि बढाउनुपर्छ ।”

नमूना एकिकृत विकास परिषद् सिदार्थनगर रुपन्देहीको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल र राष्ट्रिय युवा परिषदको सहकार्य र वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय युवा दिवस २०१९ शिक्षामा रुपान्तरण, उधमशीलता र नवप्रवर्तन भन्ने नाराका साथ सञ्चालन गरिएको संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरुको बर्तमान अवस्था र राज्यका निकायहरुमा सहभागिताको विषयमा जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका तिलोत्तम पौडेल, निरज न्यौपाने, कान्तिपुर दैनिकका सहसम्पादक दुर्गालाल केसी लगाएतले गर्नुभएको थियो । कार्यक्रममा जनता टेलिभिजनमा कार्यरत पत्रकार धनु भुसालले युवाहरुको मुद्धा उठान र सञ्चारक्षेत्रको अनुभव अदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रममा ५ नम्बर प्रदेशको बाके, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपरासी र लमजुङका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम नमूना एकिकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *