जो निद्रामा घरसँगै बगे कठै !

लुम्पेक । आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान् तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तर्खरमा लागिन् । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामान मात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई बिस्तारा थिए । सधैं पल्लो कोठामा सबै सँगै सुत्थे । तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन् होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।

पल्लो कोठामा सुतेका दुई छोरीहरूको भने कथा अर्कै भयो । उनीहरू पनि अरूहरूझैं मस्त निद्रामै थिए । अचानक पत्तो पाए– घर घरक्क गर्‍यो, अनि गर्ल्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्, ‘त्यसपछि केही थाहा पाएनौं ।’

छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । घरको संकेतसमेत नरहने गरी बगेको छ । दुई छोरी तल्लो बारीमा काठले च्यापिएको अवस्थामा फेला परेका थिए । तिलकुमारी र छोरा दर्शनको भने अझ तल पुरिएको अवस्थामा शव भेटिएको थियो ।

घाइते दुवै बालिकालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ । उनीहरूलाई आमा र भाइको अवस्था जानकारी गराइएको छैन ।

बहिनी ११ वर्षीया करिश्माको टाउकामा बढी चोट छ । उनको दायाँ हात र ढाडमा पनि समस्या देखिएको छ ।

पहिरोको घेराबन्दीमा परेको सत्यवती–३ लुम्पेकमा खाद्यान्न संकट भएको छ । ढुवानी व्यवसायीको पाँच दिनदेखिको आन्दोलनले खाद्यान्न पुग्न नसकेका बेला पहिरोले थप अवरोध गरेको हो । कालीगण्डकी करिडोरदेखि गाउँसम्म पुग्ने १० किलोमिटर सडकमा ५० भन्दा बढी पहिरा छन् । नजिकको बजारबाट समेत खाद्यान्न पुर्‍याउन सकिएको छैन ।

पहिरोले विस्थापित भएर विद्यालयमा बसेका गर्भवती, सुत्केरी, बालबालिकासहित वृद्धवृद्धा मर्कामा छन् । सिङी, मुरुङी, पल्लोखोला, कुतडाँडा, रितडाँडालगायत बस्तीसँग सम्पर्क टुटेको छ । मंगलबार र बुधबार दिउँसो वर्षा केहीबेर रोकिए पनि फेरि सुरु भएको छ । गाउँलेले घर छोडेर स्थानीय धर्मपुर माविमा आश्रय लिएका छन् । पहिरो खस्ने डरमा उनीहरूले घरमा भएको खानेकुरा र लत्ताकपडा पनि बाहिर निकाल्न सकेका छैनन् ।

‘सामूहिक मेसमा दैनिक झन्डै ४ सयलाई खाना खुवाइरहेका छौं,’ स्थानीय टोल विकास संस्थाका संयोजक गिरबहादुर परियारले भने, ‘बुधबार बिहानसम्म जेनतेन खाद्यान्न पुगे पनि साँझदेखि समस्या छ ।’

वडाध्यक्ष रुकबहादुर कुँवरका अनुसार पहिरोले २२ घर भत्किएका छन् । ५० भन्दा बढी घर जोखिममा छन् । उनले भने,
‘चट्याङसहितको वर्षा नरोकिएकाले थप जोखिम र क्षतिबाट जोगाउन सामूहिक रूपमा राखिएको छ ।’ आश्रय लिनेमा ७ गर्भवती र त्यत्तिकै संख्यामा सुत्केरी छन् ।

बिरामी र वृद्धवृद्धाका लागि गाउँपालिकाले मेडिकल अधिकृत डाक्टर शिला ढकालको नेतृत्वमा गाउँमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । तर, औषधि अभाव छ । ‘स्वास्थ्यमा ठूलो समस्या छैन्,’ डा. ढकालले भनिन्, ‘तर, खाद्यान्न अभावले गर्भवती, सुत्केरी र बालबालिका प्रभावित छन् ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाएको औषधि सडक थुनिँदा अस्लेवामै थन्किएको छ ।

खाद्यान्न संकट बढदै गएपछि परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै सेनाको हेलिकप्टरमार्फत २० क्विन्टल चामल, २ क्विन्टल दाल, १ क्विन्टल चिउरा पठाएका छन् । मंगलबार नै दुवै स्थान अवलोकन गरेर फर्केका उनले २४ घण्टाको प्रयासपछि घाइतेको उद्धार र केही खाद्यान्न पुर्‍याउन सकिएको बताए । ‘मौसमकै कारण चाहेर पनि तत्काल उद्धार गर्न सकिएन्,’ उनले भने, ‘जसोतसो आज सफल भइयो ।’ उनले विस्थापितको व्यवस्थापन तत्काल सुरु गर्न सुरक्षाकर्मी र जनप्रतिनिधि परिचालन गरिएको बताए । सुरक्षित जग्गा खोजीपछि सरकारले नै आवासका लागि पहल गरिदिने उनको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *