प्रधानमन्त्री ओली आकस्मिक भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्ली जानुहुने भएको छ ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १०देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

मोदीले जेठ १६ गते साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै हुनुहुन्छ । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाउनुभएको थियो । यसपटक उहाँले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिनुभएको हो ।

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *