सरकारकाे आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएकाे हाे।

सर्वेक्षण सार्वजनिक गर्दै उहाँले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरिएको बताउनुभयाे । चालू आवमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने मन्त्री खतिवडाकाे दाबी थियो ।

सर्वेक्षणमा आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको उल्लेख छ । यस्तै अर्थमन्त्री खतिवडाले कूल ग्राहस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमतामा पनि वृद्धि भएको बताउनुभयाे ।

सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब पुग्ने अनुमान गरिएको समेत खतिवडाले बताउनुभयाे । सर्वेक्षणमा आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २ दशमलव २ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको उल्लेख छ ।

अर्थमन्त्री खतिवडाले निर्यात व्यापार केही बढ्न गएको बताउनुभयाे । आर्थिक वर्ष २०७५/७६ को अवधिमा व्यापार घाटा ८ खर्ब ८८ अर्ब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *