नागरिकलाई स्वस्थ बनाउन खुल्ला व्यायामशाला

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढिक खेल मैदानमा खुल्ला व्यायमशाला बनाएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो। भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । यो पोखराको पहिलो खुल्ला व्यायामशाला हो ।

व्यायामशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । उहाँले यस्ता व्यायमशाला टोल÷टोल हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताउनुभयो । उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकै पटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खर्चेको छ ।

महानगरपालिकाका अनुसार पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ । उक्त सामग्री चिनबाट खरिद गरी ल्याइएको हो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थपान गर्नेछ । आदर्श क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा २९ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बानिया, आदर्श क्लबको पूर्व अध्यक्ष विशाल श्रेष्ठ, सचिव पदम गुरुङले व्यायामशालाको बारेमा बोल्नुभएको थियो ।

पोखरा १८ जामुनबोट खुला व्यायामशाला निर्माणका लागि टेन्डरमार्फत निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ । खुला व्यायामशालाको प्रकृति एउटै हुने महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो । १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिनुभयो ।

पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने व्यायामशालाका लागि ठेक्का सम्झौता भएको छ । एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्यायामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ । दौडका लागि वरिपरी दौड ट्रयाक समेत बनाइने भएको छ । योगासनका लागि पार्क भित्रै गार्डेन निर्माण गरी व्यवस्थापन गरिने छ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *