संघीय संसद्को वर्षे अधिवेशन आजदेखि, यस्ताे छ कार्यसूची

काठमाडौँ । संघीय संसद्को चौथो अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो दिन दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् अधिवेशन आह्वानको सूचना पढेर सुनाइनेछ । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

दुवै सदनमा सत्तारूढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावित कार्यसूची छ । दोस्रो सत्रमा अघिल्लो अधिवेशनपछि निधन भएका पूर्वमन्त्री तथा सांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयाे । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ ।

एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *