बारा र पर्साका हुरी प्रभावितको घर निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौँ । सरकारले बारा र पर्साका हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो ।

घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ । तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको हो । बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले यो विषयमा कुरा गरेका थिए । प्रधानमन्त्रीसहितको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत थिए । राउतले समेत छिटो घर निर्माणको आवश्यक औल्याउँदै विशेष व्यवस्था गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *