नेकपा कार्यदलले माग्यो एक हप्ताको समय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय मागेको छ । तल्ला कमिटी एकता गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक हप्ताको समय मागेको हो ।

विभिन्न कारणले काम गर्न नसकिएको भन्दै सचिवालयसँग एक साताको समय मागिएको कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

नेकपा सचिवालयको बिहीबारको बैठकमा कार्यदलका संयोजक तथा सदस्यहरुलाई छलफलका लागि बोलाइएको थियो ।
बैठकमा कार्यदलले एक साताको समय मागेको र एक सातामा सुझाव र सिफारिससहित अन्तिम प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यदलका सदस्य भट्टराईले बताए ।

बिहान बसेको कार्यदल र सचिवालयको संयुक्त बैठकमा कुरा राखेर कार्यदलका सदस्यहरु निस्किएका थिए । सचिवालय बैठक कुनै निर्णय नगरी सकिएको छ ।

कार्यदलको कुरा सुनिएको र थप समय दिने वा बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय शुक्रबारको सचिवालय बैठकले गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालयको अर्को बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ ।

नेकपाको स्थायी समितिले तल्ला कमिटी एकता गर्न गत पुस १२ गते ९ सदस्यीय कार्यदल बनाएको थियो । सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदललाइ १५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिइएको थियो ।

सो कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *