शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु

पाल्पा । संघीय सरकारको योजना अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरूलार्इ ऋण दिने व्यवस्था स्थानीय सरकारले कार्यान्वयन गर्न थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको हो ।

बगनासकाली गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेर युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको हो । कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको बगनासकाली गाउँपालिकाले शैक्षिक बेरोजगारी हटाउन युवाहरुलाई सहुलियतमा ऋण लगानी गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिकाले युवा लक्षित युवा स्वरोजगार, कृषि विकास, पशु सेवा कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा बिनियोजित ७ लाख रुपैयाँबाट ऋण उपलब्ध गराइएको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताउनुभयो ।

गाउँपालिकाले दिएको ऋणबाट ३ महिनाभित्र काम सुरु गरेपछि २ वर्षसम्म व्याज तिर्नु पर्दैन । २ वर्ष भित्रै तिरे ५ प्रतिशत रकम छुट हुने व्यवस्था  छ ।

युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातकतह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यहरुलाई चार लाख रुपैयाँ रकम उपलब्ध गराइएको छ । बगनाशकाली–२, का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका एक लाख रुपैयाँ ऋण लिएका छन । सोही स्थानकी सचिना अधिकारी र अमृता पाण्डेले पनि स्थायी प्लाष्टिक घर निर्माण गरि तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण पाएका छन् । बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि ४ लाख रुपैयाँ ऋण प्रदान गरिएको छ । यस्तै गनासकाली–९, का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ । शैक्षिक प्रमाण पत्र धितो राखेर क्रण पाए पछि युवा हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *