ओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमा

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारदेखि सरकारको कार्यशैली बिरुद्ध प्रदर्शन शुरु गर्ने भएको छ । कांग्रेस निकट तरुण दल, महिला संघ र नेविसंघले आइतबार राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने जनाएका छन् ।
कांग्रेसका एक नेताका अनुसार आइतबार बस्ने केन्द्रिय कार्यसमिति बैठकबाट सरकार बिरुद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिने छ । बिहिबारदेखि शुरु भएको कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आइतबार पुनः बस्दै छ । बैठकमा कांग्रेसका आन्तरिक विषयमासमेत छलफल हुने छ । स्रोतका अनुसार सरकारको कार्यशैली बिरुद्ध देशब्यापी रुपमा आन्दोलन चर्काउने कांग्रेसको तयारी छ ।
प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ ।
सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति समेत कांग्रेस आक्रामक छ । बेल घेराउका बीच महराले शुक्रबार संसदीय कारबाही सुरु गरेकोमा कांग्रेस आक्रोशित बनेको हो ।
सरकारले पूर्वाग्रही ढङ्गले निर्णय गरेको कांग्रेसको आरोप छ । तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने कांग्रेसका एक नेताले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *