गगन थापाको आक्रोश प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाउने यो कस्तो लोकतन्त्र हो ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आजको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरीदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उहाँले विरोध गर्नुभएको हो ।

सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राख्नुभएको थियो । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै उहाँहरुले विरोध गर्नुभएको हो । नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद, अख्तियार, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाउनुभयो ।

सभामुख कृष्णबहादुर महराले प्रतिपक्षबाट सदन अवरोध गरेपछि आजै १५ मिनेटका लागि सदन स्थगन गर्नुभएको थियो । सांसद बालकृष्ण खाँणले सभामुख महरासँग प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने जनाइएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *