जमानतमा छुटे कुख्यात ‘गुन्डा नाइके’ दिपक मनाङे

काठमाडौं । कुख्यात ‘गुन्डा नाइके’ दिपक मनाङे भन्ने राजिव गुरूङ जमानतमा थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार मनाङे रिहा भएका हुन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनी डिल्लीबजार जेलमा थिए । मनाङे प्रदेश ४ का प्रदेशसभा सदस्यसमेत हुन् ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा तत्कालिन पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएका मनाङेलाई सर्वोच्च अदालत प्रशासनले २७ हजार ३ सय ७६ रूपैँया जमानत बुझाए थुनामुक्त गर्नु भन्ने आदेश दिएको हो ।

उनले २७ हजार ३ सय ७५ रूपैँया धरौटी बुझाएर शुक्रबार नै डिल्लीजार कारागारबाट थुनामुक्त भएका छन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले मुद्दाको पुनरावेदन गर्दा कानुन अनुसार जमानतमा छुट्ने सुविधा पाउँछन् । यस्तो सुविधा अदालतको प्रशासनले दिन्छ । उनले कानून अनुसारको सुविधा पाएर थुनामुक्त भएका हुन् ।

२०६१ सालमा ’गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । २०६२ सालमा उनलाई जिल्ला अदालतले ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाय गरेको थियो । पुनरावेदन अदालतले भने मनाङेलाई ५ वर्ष कैद सजाय र्गयो। उनले पुनरावेदन गरेका थिएनन् ।

गएको बैशाखमा उनलाई प्रहरीले पुनरावेदन अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो । त्यसपछी मनाङेले आफूलाई उक्त फैसला थाहा नभएकाले पुनरावेदन गर्न बाटो खोलीपाउँ भन्दै सर्वोच्च अदलतमा मुद्दा दिएका थिए । सर्वोच्चले उनलाई पुनरावेदन गर्न अनुमति दिएको थियो ।

पुनरावेदन गर्न अनुमति पाएपछि उनले सर्वोच्च प्रशासनमा जमानतका लागि निवेदन दिएका थिए । मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने व्यवस्था दिएको छ । उनलाई सर्वोच्चले उक्त सुविधा दिने पत्र डिल्लीबजार जेलमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *