१७ वर्षपछि अमेरिकासँग नयाँ सम्बन्ध : परराष्ट्रमन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले १७ बर्षपछि अमेरिकासँग नयाँ सम्बन्ध जोड्न लागेको बताएका छन् । आफ्नो औपचारिक भ्रमणका लागि आइतबार अमेरिका जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगास्थित जनजागृती माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अमेरिका भ्रमणको समयमा पछिल्लो समय नेपालले हाँसिल गरेका उपलब्धिको बारेमा छलफल गर्ने मन्त्री ज्ञवालीले बताए । त्यसैगरी नेपालको विकासमा अमेरिकाको साथ, सहयोग तथा नेपालमा लागानीका सम्भावनाहरु बारे पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए । ‘देशमा लगानी भित्राई तिब्र रुपले विकास गर्ने तथा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि उच्च बनाउने भ्रमणको उदेश्य हो ।’ उनले भने, ‘नेपालका लागि महत्वपूर्ण सम्झौता हुनेछन् ।’ सधै अमेरिकाले नेपाललाई ‘दिल्लिको आँखा’ ले हेर्छ भन्ने कुरालाई पनि आफूले गलत सावित गरेर फर्किने प्रतिवद्धता समेत उनले ब्यक्त गरे ।

विश्वको ध्यान नेपालतर्फ
परराष्ट्रमन्त्री ज्ञवालीले यो पाचँ बर्षे स्थायी सरकार भएकोले नेपालले विश्वको ध्यान आकर्षण गरिरहेको बताए । ‘विगतका बर्षहरुमा नौ महिनामा सरकार फेरिन्थ्यो, जसले गर्दा अन्तराष्ट्रियस्तरमा नेपालको छवि सोचेजस्तो थिएन ।’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तर अहिले स्थायी सरकार छ, विश्वले नेपाल नियलिरहेको छ ।’ नेपालमा विभिन्न महत्वपूर्ण अन्तराष्ट्रिय कार्यक्रमहरु पनि भइसकेकोले पनि नेपाल उन्नतीको बाटोतिर लम्किरहेको प्रमाणित हुने उनले बताए । त्यसका साथै नेपालले विकास निर्माणलाई प्राथमिताका दिएको समेत उनको भनाई छ ।

‘सरकारले धमाधम विकासका काम गरिरहेको छ, केहि समयपछि नजिता आउनेछ ।’ मन्त्री ज्ञवालीले भने, ‘यो सरकारको कार्यकालभर नेपाली जनताको जिवनस्तर उकासिनेछ ।’ नेपाल अबको तिब बर्षभित्र अति कम विकसित मुलुकबाट माथि उठ्ने पनि उनले दाबी गरे । त्यस्तै सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य सरकारको रहेको उनले जानकारी दिए ।

अबकाे लडाई गरिबीविरुद्धको
मन्त्री ज्ञवालीले अब आफूहरुको लडाई गरिबी, अशिक्षा, बेरोजगार, अन्याय तथा अत्याचारविरुद्धको भएको बताए । संसदभित्र सत्तापक्ष र प्रतिपक्ष हुन संसदको नियम भएपनि देश विकास गर्ने कुरामा सबै राजनीतिक दल एक हुनुपने बताए ।

‘संसभित्रको नियम एक ठाउँमा छ, त्यहाँ जुनसुकै विचार राख्ने अधिकार हुन्छ ।’ उनले भने, ‘तर देश बनाउने कुरामा आउनुस, सँगै हातेमालो गरौँ ।’ अब सर्टिफिकेट बाकसमा राखेर पासपोर्ट बोकि म्यानपावरको ढोका धाउनुपर्ने बाध्यताको पनि छिट्टै अन्त्य गरिने उनल दाबी गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *