गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आजदेखि ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरुआत गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजित एक कार्यक्रमबीच अभियानको सुरु गर्नुभएको हो । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रज्ञा–प्रतिष्ठानलेअभियान सुरु गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि सिकाइ बन्न सक्ने बताउनुभयो । यस अभियानलाई गण्डकी प्रदेशका ११ वटै जिल्लाका गाउँगाउँ तथा शैक्षिक संस्थासम्म पु¥याउनुपर्ने उहाँको भनाइ छ । “हामीले आफ्नो भाषा शुद्ध बोल्ने र लेख्ने जनशक्ति तयार पा¥यौँ भनेर मात्रै गर्व गरेर पुग्दैन,” उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय भाषाको ज्ञानसँगै आफ्नो भाषामा पनि दक्ष हुन आवश्यक छ ।”

अभियानपछि सरकारी तथा गैह्रसरकारी क्षेत्रमा राखिने दस्तावेजमा त्रुटी नहुने मुख्यमन्त्री पाण्डेले विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशबाट सुरु भएको यस अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपाल’ अभियानका रूपमा देशव्यापी बनाउन सकिने बताउनुभयो ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलले प्रशासनिक भाषाको शुद्धतासँगै स्पष्टताले राज्य र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने बताउनुभयो । उहाँले भाषा व्याकरणको विषय मात्र नभई यो सुशासन र सार्वजनिक उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “हामीले लेखेको सरकारीपत्र कागज मात्र होइन, यो राज्यले नागरिकसँग गर्ने संवाद पनि हो । भाषा जति स्पष्ट र सम्मानजनक हुन्छ, राज्यप्रतिको विश्वास पनि त्यति नै बलियो र सुमधुर हुन्छ ।”

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले नेपाली भाषाको प्रयोगमा देखिएका त्रुटि पहिचान गर्दै त्यसको निराकरणका उपायबारे छलफल र जागरण आवश्यक भएकाले अभियान सुरु गरिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा भाषा कमजोर हुँदै गएको र भाषिक लापरबाही बढ्दै गएको भन्दै यसलाई सुधार्न अभियान थालिएको सुनाउनुभयो ।

कुलपति प्राडा न्यौपानेले भाषालाई राष्ट्रको पहिचान र राष्ट्रियताको आधारका रूपमा परिभाषित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा राष्ट्रको पहिचान हो, राष्ट्रियताको रूप हो । भाषा एकताको आधार पनि हो र हाम्रो संस्कृतिको आधार पनि हो ।” उहाँले भाषा जस्तो महत्वपूर्ण विषयमा खेलबाड गर्दा देश र जनताले दुःख पाउने विषयमा जोड दिनुभयो ।

यो अभियान प्रदेशका ११ वटै जिल्लामा विस्तार गरिने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति शंकरविरही गुरुङले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन प्रदेशका विभिन्नस्थानीय तहसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

सरकारी दस्तावेजका साथै सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा सुधार ल्याउन अभियान आवश्यक रहेको उहाँको भनाइ छ ।

अभियान शुभारम्भकै अवसरमा आज ‘नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपाय’ विषयमा गोष्ठीसमेत आयोजना गरिएको थियो । गोष्ठीमा डा प्रेमप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपाली भाषाको प्रयोगमा हुने गरेका विभिन्न त्रुटि, ती त्रुटिका कारण तथा निराकरणका उपायबारे उदाहरणसहित प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गण्डकी प्रदेशमा बोलिने रैथाने र मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली भाषाको शुद्धतासँगै प्रदेशका अन्य मौलिक भाषाको विकासमा प्रतिष्ठानले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

अभियानलाई अगामी असोज १५ गतेसम्ममा प्रदेशका ११ वटै जिल्लामा लैजाने योजना रहेको गण्डकी प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *