What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेतृत्व र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएको छ । उनको असाधारण उपलब्धिले नेपाललाई विश्वसामु गौरवका साथ चिनाउन महत्वपूर्ण योगदान गरेको पत्रमा उल्लेख छ ।
एनआरएनए यूकेले नेपाल सरकारसमक्ष निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । त्यस्तै, राष्ट्रिय सम्मानसहित राष्ट्रिय शोकसभा आयोजना गरी उनको योगदानप्रति राष्ट्रको कृतज्ञता र सम्मान औपचारिक रूपमा व्यक्त गर्न पनि आग्रह गरिएको छ ।
पत्रमा राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउन तथा विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न निर्देशन दिनुपर्ने मागसमेत गरिएको छ । साथै, निर्मल पुर्जाको नाममा राष्ट्रियस्तरको स्मारक, अध्ययनवृत्ति वा प्रेरणा प्रतिष्ठान स्थापना गरी भावी पुस्ताका लागि उनको योगदानलाई संस्थागत गर्न आग्रह गरिएको छ ।
निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पत्रमा उल्लेख छ । उनले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमालको सफल आरोहण गरेका थिए । उनको जीवन केवल कीर्तिमानको कथा नभई मानवता, साहस, अनुशासन र सेवाको उदाहरण रहेको एनआरएनए यूकेको भनाइ छ ।
पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेसल बोट सर्भिस (SBS) का सदस्यका रूपमा समेत सेवा गरेका पुर्जाको राष्ट्रिय पहिचान सधैं नेपाली रहेको पत्रमा उल्लेख गरिएको छ । सुगौली सन्धि तथा नेपाल–बेलायत सन्धिअनुसार ब्रिटिश गोर्खा सैनिक नेपाली नागरिक नै भएकाले उनीहरूको योगदान नेपालको गौरव, इतिहास र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा भएको एनआरएनए यूकेको दाबी छ ।
एनआरएनए यूकेले निर्मल पुर्जाको जीवनले ‘असम्भव पनि सम्भव हुन्छ’ भन्ने विश्वास लाखौं मानिसमा जगाएको बताएको छ । उनका साहस, मानवता र सेवाको भावनाले भावी पुस्तालाई समेत प्रेरणा दिने पत्रमा उल्लेख छ ।
पत्रमा नेपालले एक महान् पर्वतारोही मात्र गुमाएको नभई राष्ट्रले आफ्नो गौरवशाली सन्तान, बेलायती गोर्खा समुदायले आफ्नो गौरव र विश्वले एक अद्वितीय प्रेरणाको स्रोत गुमाएको उल्लेख गरिएको छ । यस्ता व्यक्तित्व इतिहासमा विरलै जन्मिने भएकाले राष्ट्रले समयमै सम्मान गर्नुपर्ने एनआरएनए यूकेको भनाइ छ ।
एनआरएनए यूकेले निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानअनुसार सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न पुनः आग्रह गरेको छ । यस्तो सम्मान निर्मल पुर्जाको व्यक्तिगत सम्मान मात्र नभई नेपालको गौरव, इतिहास, राष्ट्रिय स्वाभिमान र विश्वसामु नेपाली पहिचानको सम्मान हुने पत्रमा उल्लेख गरिएको छ । ००००






