दीर्घसेवी शिक्षकलाई विद्यालयद्वारा सम्मान तथा विदाइ

What To Know

  • उहाँले भन्नुभयो, “समाजमा गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षक उत्पादन गर्नु ठूलो उपलब्धि हो।” तत्कालीन आवश्यकताअनुसार शिक्षकहरूले निर्वाह गरेको भूमिकाले गहिरो अर्थ राख्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उहाँहरूले पढाएका विद्यार्थी आज डाक्टर र इन्जिनियर बनेका छन्, यसले शिक्षकहरूको योगदान कति महत्वपूर्ण छ भन्ने देखाउँछ।”.
  • सम्मानित शिक्षकद्वय नन्दबहादुर पुन र गिरीप्रसाद थापा घर्तीले आफ्नो शैक्षिक कार्यकालका अनुभव सुनाउँदै विद्यालय परिवार, विद्यार्थी तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयकी विद्यार्थी रिया काउछा र पूर्व विद्यार्थी छमबहादुर काउछाले शुभकामना मन्तव्य राख्नुभएको थियो।.

कौरव खत्री
बागलुङ । गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको श्री पाण्डवखानी माध्यमिक विद्यालयले दीर्घसेवी शिक्षकहरूको सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक नरबहादुर पुन निरजले कार्यक्रमलाई सम्बोधन गर्दै आजको दिन विद्यालयका लागि ऐतिहासिक रहेको र पाण्डवखानीले यसलाई सधैं सम्झिरहने बताउनुभयो। उहाँले शिक्षकहरूले विद्यालय र समाजको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “समाजमा गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षक उत्पादन गर्नु ठूलो उपलब्धि हो।” तत्कालीन आवश्यकताअनुसार शिक्षकहरूले निर्वाह गरेको भूमिकाले गहिरो अर्थ राख्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उहाँहरूले पढाएका विद्यार्थी आज डाक्टर र इन्जिनियर बनेका छन्, यसले शिक्षकहरूको योगदान कति महत्वपूर्ण छ भन्ने देखाउँछ।”

इतिहासमा एकपछि अर्को नक्षत्र चम्किनु पर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नन्दबहादुर पुन र गिरीप्रसाद थापा घर्ती दुवै पाण्डवखानी माध्यमिक विद्यालयका चम्किला नक्षत्र हुनुहुन्छ।” भविष्यमा पनि यस्ता नक्षत्रहरू जन्मिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “यस्ता उदाहरणले विद्यालयको उज्यालो इतिहासलाई निरन्तरता दिन्छ।”

गुरु र विद्यार्थीबीचको सम्बन्धबारे उहाँले भन्नुभयो, “गुरु र विद्यार्थीबीचको सम्बन्ध समुद्रजस्तै गहिरो हुन्छ।” उहाँले थप्नुभयो, “जहाँ गुरुको शिक्षा र ज्ञान हुन्छ, त्यहाँ समाजले सधैं भरोसा गर्छ।”

सम्मानित शिक्षकद्वय नन्दबहादुर पुन र गिरीप्रसाद थापा घर्तीले आफ्नो शैक्षिक कार्यकालका अनुभव सुनाउँदै विद्यालय परिवार, विद्यार्थी तथा सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयकी विद्यार्थी रिया काउछा र पूर्व विद्यार्थी छमबहादुर काउछाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

विद्यालयले शिक्षक नन्दबहादुर पुन र गिरीप्रसाद थापा घर्तीलाई बाजागाजा तथा आमा समूहको भजनकीर्तनसहित भव्य रूपमा सम्मान गर्दै सार्वजनिक अभिनन्दन गरेको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, वडा कार्यालय, पूर्व विद्यार्थी, आमा समूह, टोल सुधार समिति तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

अवकाश प्राप्त शिक्षक नन्दबहादुर पुनले विद्यालयमा ३७ वर्ष सेवा गरी विज्ञान तथा गणित विषय अध्यापन गर्नुभएको थियो भने गिरीप्रसाद थापा घर्तीले ४० वर्षसम्म दीर्घ सेवा गरी सूचना अधिकारी तथा अङ्ग्रेजी विषयका शिक्षकका रूपमा कार्य गर्नुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शिक्षक कासीराम विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक नरबहादुर सुनार ‘नविन’ले गर्नुभएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *