पाइला–पाइलामा ठगिँदै पर्यटक, के हेरेर बसेको छ सरकार ?

What To Know

  • जसले कमिशन दिन्छ, उसैको व्यापार चलाइदिने । गाइडले सस्तो र राम्रो भनेर सामान किनाउँछन्, आफूले कमिशन खान्छन् । एक सयको सामान पर्यटकलाई हजारौंमा बेचिन्छ । र, त्यो रकम पसले र गाइडले भाग लगाउँछन् । सरकारले विदेशी चढ्ने हरियो प्लेटको ट्याक्सी र बसमा पुरै भन्सार र भ्याट छुट दिएको हुन्छ ।.
  • ती होटलले पर्यटकसँग मनोमानी शुल्क उठाइरहेका छन् । सरकारले शुल्क तोकिँदैन । जति लिए पनि भो । होटलले ग्राहक लगेबापत कमिशन दिन्छन् । त्यो कमिशन दिएको पैसा ग्राहकसँग उठाउँछन् । विदेशीको मात्र होइन, नेपालीको हकमा पनि त्यहीँ नै छ । लामो रुटमा चल्ने सार्वजनिक यातायातले कुनै होटलमा लगेर गाडी रोकिदियो भने चालक र सहचालकले सित्तैमा खाना खान पाउँछन् ।.

अनुसा थापा
नेपालमा वर्षेनि लाखौंको संख्यामा विदेशी नागरिक घुम्न आउँछन् । यहाँको प्राकृतिक सुन्दरता हेर्न, रहनसहनबारे बुझ्न छिमेकीसहित तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । उनीहरुको यहाँको बसाइँ सहजीकरण गर्न गाइडहरु छन् । गाइडहरुले नै उनीहरुलाई घुमाउन लैजान्छन् ।

ठाउँबारे जानकारी दिन्छन् । त्यसबापत गाइडहरुले शुल्क लिन्छन् । त्यहीँ पनि गाइडहरु कमिशन खान छोड्दैनन् । जुन होटलले कमिशन दिन्छन्, त्यही होटलमा लगेर राखिदिने । आफूलाई कमिशन दिने पसलमा लगेर पर्यटकलाई सामान किन्न लगाउँछन् । पर्यटक बस र ट्याक्सी चालकसँग पनि उनीहरुले कमिशन खान्छन् ।

जसले कमिशन दिन्छ, उसैको व्यापार चलाइदिने । गाइडले सस्तो र राम्रो भनेर सामान किनाउँछन्, आफूले कमिशन खान्छन् । एक सयको सामान पर्यटकलाई हजारौंमा बेचिन्छ । र, त्यो रकम पसले र गाइडले भाग लगाउँछन् । सरकारले विदेशी चढ्ने हरियो प्लेटको ट्याक्सी र बसमा पुरै भन्सार र भ्याट छुट दिएको हुन्छ ।

विदेशीलाई सस्तो परोस्, उनीहरु नठगिऊ्न भन्ने उद्देश्यले सरकारले हरियो प्लेटमा छुट दिन्छ । पर्यटकका निम्ति सरकारले आफू घाटा खान्छ । तर, चालक र गाइडहरु ठग्न छोड्दैनन् । जति मनलाग्यो, त्यति भाडा उठाइरहेको अवस्था छ । सरकारले हरियो प्लेटको ट्याक्सी र बसको भाडा निर्धारण गरेको छैन ।

यातायात व्यवस्था विभाग र नेपाल पर्यटन बोर्ड पर्यटक ठगिदाँ टुलुटुलु रमिता हेरेर बसिरहेको छ । एअरपोर्टमा जम्मा २०७ वटा ट्याक्सी सञ्चालनमा छ । त्यहाँ २०५० सालदेखि नयाँ दर्ता बन्द छ । एअरपोर्टमा चल्ने कुनै ट्याक्सीमा मीटर जडान गरिएको छैन । ट्याक्सी चालकलाई जति मनलाग्छ, त्यति भाडा असुल्छन् ।

उनीहरुले पर्यटनलाई होटलमा लगेर राखिएबापत कमिशन पनि खान्छन् । आफूलाई जुन होटलमा कमिशन आउँछ, ट्याक्सी चालकले त्यहीँ होटलमा लगेर राखिने गरेका छन् । बसको हकमा पनि यहीँ नै हो । कालो प्लेटको ट्याक्सीले त पर्यटन देख्नेबित्तिकै दशौं गुणा भाडा बढाइहाल्छन् ।

पाँच सय रुपैयाँ उठ्ने बाटोमा पाँच हजार माग्छन् । व्यापारीलाई पनि विदेशी देख्नै हुँदैन । एक्लै हिँडेको विदेशीलाई झन् बढी ठगिन्छ । पाँच सयको सामान पाँच हजारमा भिडाउँछन् । झन् माग्नेले त विदेशीलाई धुरुक्कै रुवाउँछन् । घेरेर पैसा माग्छन् । नेपालीमा भन्ने गरिन्छः अतिथि देव भवः ।

तर, पछिल्लो समय अतिथिलाई ठग्ने चलन मौलाएको छ । पहिलेपहिले अतिथिलाई सत्कार गरिन्थ्यो । अतिथिलाई भगवान मानिन्थ्यो । पर्यटक पनि हाम्रो लागि अतिथि नै हुन् । उनीहरु नेपाल आउनु हाम्रै अर्थतन्त्र बलियो हुनु हो । यद्यपि, कसैले त्यो कुरा सोच्दैन । सबैलाई ठग्नु छ ।

कतिपय विदेशी नेपाल आउँदा सार्वजनिक यातायातमा यात्रा गर्छन् । सहचालकले उनीहरुलाई नराम्रो व्यवहार गर्छन् । उनीहरुलाई ठग्न खोजिहाल्छन् । यता, कसैले सिट पनि छोड्दैनन ।। उभिएर उनीहरु यात्रा गर्छन् । केही दिनअघिको घटना हो, दुई विदेशी पनौतीबाट काठमाडौं चल्ने रुटको गाडी चढे ।

बसमा सीट थिएन । तीन जना सरकारी कर्मचारी सीटमा बसिरहेका थिए तर उनीहरुले विदेशीलाई सीट छोड्दिएनन् । पर्यटन प्रोत्साहनमा भूमिका खेल्नुपर्ने कर्मचारीहरुको व्यवहार त यस्तो छ भने व्यापारीले उनीहरुलाई नठग्लान् ? व्यापारीको त उद्देश्य नै ठगेर कमाउनु हो ।

कुनै देशको नागरिक हाम्रो देश आएपछि उसको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । उनीहरुले यहाँ राम्रो अनुभव गर्न पाएपनि आफ्नो देशमा गएर प्रचार गर्छन् । नेपाल आउने पर्यटकको संख्या बढ्छ । अर्थतन्त्रमा त्यसले योगदान पुर्याउँछ । तर, सरकारलाई मतलबै छैन ।

कति विदेशी आयो ? कति राजश्व जम्मा भयो ? सरोकारवाला निकाय यसमै केन्द्रीत छ । विदेशीहरु ठगिएका छन् कि । उनीहरुलाई असुविधा भएको छ कि । उनीहरु कहाँ बसिरहेका छन् ? के गरिरहेका छन् ? सरकारले बेवास्ता गर्दै आएको छ । अन्य मुलुकमा पर्यटकको ईन्ट्री हुनेबित्तिकै उसको सम्पूर्ण डाटा सरकारले राख्छ ।

कहाँ गयो, के गर्यो ? सरकारसँग डाटा पुगिरहेको हुन्छ । यसले उनीहरुको सुरक्षा पनि हुन्छ, साथै देशमा कुनै अपराधिक क्रियाकलाप गर्न पाउँदैनन् । तर, हामीकहाँ त्यस्तो छैन । जसका कारण विदेशीहरु ठगिइरहेका छन्, लुटिरहेका छन् । घुम्न आएका कतिको ज्यान गएको उदाहरण पनि छ ।

यस्तो अवस्थामा को नेपाल आउन चाहन्छ ? सरकार यसविषयमा गम्भीर हुनुपर्छ । विदेशीको संख्या यति पुर्याउने भनेर मात्र हुँदैन । उनीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । नेपाल आउन प्रोत्साहन गर्नुपर्छ । अहिले देशभर ठूल्ठूला होटल, रेष्टुरेण्ट खुलेका छन् ।

ती होटलले पर्यटकसँग मनोमानी शुल्क उठाइरहेका छन् । सरकारले शुल्क तोकिँदैन । जति लिए पनि भो । होटलले ग्राहक लगेबापत कमिशन दिन्छन् । त्यो कमिशन दिएको पैसा ग्राहकसँग उठाउँछन् । विदेशीको मात्र होइन, नेपालीको हकमा पनि त्यहीँ नै छ । लामो रुटमा चल्ने सार्वजनिक यातायातले कुनै होटलमा लगेर गाडी रोकिदियो भने चालक र सहचालकले सित्तैमा खाना खान पाउँछन् ।

साथै, कमिशन पनि लिन्छन् । त्यो पैसा होटलले ग्राहकबाट असुल्छ । यो अहिलेपनि चलिरहेको छ । यो ठगीको विरुद्ध कसले आवाज उठाउने ? नेपालीले त बोल्न सक्दैनन् भने विदेशीले के बोल्थे ? यो देशमा जहाँपनि कमिशन । यहाँ कसैले कसैमाथि विश्वास गर्ने वातावरण नै छैन ।

जसले सक्छ, उसले लुटेको छ । नेपालका राजनीतिक दल, सरकारी कर्मचारी, व्यापारीलगायत सबै कमिशनखोर भइदिए । राजनीतिक दल र सरकारी कर्मचारी घुस र कमिशन खाएपछि कानुनविपरीत काम पनि गर्ने । व्यापारीको काम नै जसरी हुने कमाउने हो ।

विदेशी होस् या स्वदेशी, जोपनि ठगिएका छन् । जो ठग्न सक्छ, उही माथि गएको छ । यो समाजमा उसैको सम्मान गरिन्छ । मुलुकमा विभिन्न मितिमा राजनीति परिवर्तन भयो । सामान्ती, शोषकी, लुटाहा, ठगहरुलाई कारबाही गर्छौं भनेर आन्दोलन गरियो । तर, के उपलब्धि भयो ?

केही पनि रोकिएन । झन् ठगीधन्दा मौलायो । पहिले नेपालीलाई मात्र लुटिन्थ्यो, अहिले विदेशीलाई पनि लुटिन्छ । कसैले कसैको ख्याल नै गर्दैन । नैतिकता भन्ने चीज मर्दै गयो । सबै जना ठगेर मोटाउन थाले । सरकार कहिल्यै होटल अनुगमन गर्दैन । न शुल्क नै निर्धारण गर्न सक्छ ।

सरकार व्यापारीको अगाडि एकदमै निरीह भयो । कुन खानाको रेट कति ? कुन रुमको भाडा कति ? बस भाडा कति ? सामानको मूल्य कति ? ट्याक्सी भाडा कति ? शुल्क तोकिएको छैन । सामान्य भाडा त निर्धारण गर्न नसक्ने सरकारले देश बनाउने रे ? योभन्दा हाँस्यापद कुरा के होला ।

नेपालमा कानुन छ, तर कार्यान्वयन गर्ने छैनन् । कार्यान्वयन गर्नेहरु आफैं तिनीहरुबाट कमिशन लिएर मोटाइरहेका छन् अनि के कारबाही गर्थें । नेपालीहरुले नेपालीलाई त ठगे, विदेशीलाई पनि छोडेनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *