टी-२० विश्वकपको ‘टाई शीट’ नेपालका लागि कति सहज

What To Know

  • नेपालले इङ्ग्ल्यान्ड र इटलीलाई पहिलो पटक सामना गर्न लागेको हो। इङ्ग्ल्यान्ड विश्व वरीयतामा शीर्ष १० भित्र रहेर सीधै विश्वकप प्रवेश गरेको टोली हो भने इटली युरोपबाट छनोट भएर पहिलो पटक विश्वकपमा पुगेको हो।.
  • समूह ‘ए’ मा आयोजक भारतसँगै पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका छन्। भारतका लागि यो सजिलो समूह ठानिएको छ।.

काठमाडाैं । आगामी वर्ष २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको टी२० विश्वकपमा नेपाल वेस्ट इन्डिज, बाङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली भएको समूहमा परेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भर्खरै सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘सी’ मा परेको हो। उक्त समूहका खेलहरू भारतमा हुने भएकाले नेपाली समर्थकहरू उत्साहित देखिन्छन्।

ओमानमा सम्पन्न विश्वकप छनोटबाट छानिएदेखि नै नेपालका खेलहरू कहाँ हुन्छन् र ककससँग प्रतिस्पर्धा होला भन्ने चासोको विषय बनेको थियो।

नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक २० ओभरको विश्वकप खेल्दै छ।

नेपालले इङ्ग्ल्यान्ड र इटलीलाई पहिलो पटक सामना गर्न लागेको हो। इङ्ग्ल्यान्ड विश्व वरीयतामा शीर्ष १० भित्र रहेर सीधै विश्वकप प्रवेश गरेको टोली हो भने इटली युरोपबाट छनोट भएर पहिलो पटक विश्वकपमा पुगेको हो।

वेस्ट इन्डिजसँग नेपालले हालै यूएईमा गएर तीनवटा खेलको टी२० शृङ्खला खेलेको थियो। पहिलो भेटमै उसले उक्त शृङ्खला २-१ ले हात पार्न सफल भएको थियो। यद्यपि वेस्ट इन्डिजको उक्त टोलीमा “पहिलो रोजाइ”का सबै खेलाडीहरू थिएनन्।

बाङ्ग्लादेशसँग भने यसअघिको दुवै संस्करणमा नेपालको भेट भएको थियो।

अमेरिका र वेस्ट इन्डिजमा गत संस्करणको विश्वकपमा नेपाल बाङ्ग्लादेशसँग २१ रनले पराजित हुन पुगेको थियो।

वेस्ट इन्डिजमा खेलिएको उक्त खेलमा नेपालले बाङ्ग्लादेशलाई १०६ रनमा सीमित पारेर समर्थकहरूमा उत्साह बढाएको थियो। कुनै बेला जिततिर अग्रसर भएको देखिएको भए पनि नेपाली टोली ८५ रनमा खुम्चियो।

सन् २०१४ को विश्वकप भेट पनि निकै रोमाञ्चक बनेको थियो।

नेपालले हङ्‌कङ र अफगानिस्तानलाई पराजित गरेपछि दोस्रो चरणमा पुग्ने सम्भावना बढेको थियो। बाङ्ग्लादेशसँगको खेलमा एक समय नेपाल हाबी थियो।

यद्यपि नेपालले बनाएको १२६ रनलाई आयोजक टोलीले सहजै पार गरेर आठ विकेटले जित हात पार्‍यो।

इटली भने स्कटल्यान्डजस्तो बलियो टोलीलाई पन्छाउँदै पहिलो पटक टी२० विश्वकपमा पुगेको टोली हो।

‘टाई शीट’मा जुनसुकै प्रतिद्वन्द्वी परे पनि नेपाली क्रिकेटप्रेमीको चासो भने नेपालले कहाँ खेल्छ भन्नेमा धेरै थियो।

यदि नेपालको खेल छिमेकी देश भारतमा परेमा नेपाली टोलीका समर्थकहरूलाई भारत पुग्न सहज हुन्थ्यो। भारतमा पनि नेपालीहरूको सङ्ख्या ठूलो छ।

खेलाडी सोमपाल कामीले भनेका पनि थिए, “हामी चाहन्छौँ, नेपालको खेल भारतमा होस्। त्यसो भएमा श्रीलङ्काको दाँजोमा थुप्रै नेपाली दर्शकहरू त्यहाँ पुग्न सजिलो हुने थियो।”

अब अमेरिकामा भएको विश्वकपमा जस्तै भारतको रङ्गशालामा नेपाली समर्थकहरू ओइरिने अनुमान गरिएको छ।

अर्को समूहमा कोको

गत विश्वकपजस्तै यसपालि पनि विश्वकपमा छानिएका २० टोलीलाई चार समूहमा बाँडिएको छ।

समूह ‘ए’ मा आयोजक भारतसँगै पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका छन्। भारतका लागि यो सजिलो समूह ठानिएको छ।

समूह ‘बी’ मा अर्को आयोजक श्रीलङ्कासँगै अस्ट्रेलिया, जिम्बाब्वे, आयरल्यान्ड र ओमान छन्।

त्यस्तै समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्यूजील्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन्।

प्रत्येक समूहका टोलीहरूले राउन्ड रोबिन लीगका आधारमा एकअर्कासँग खेल्ने छन्।

अनि प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सूपर ८’ मा जाने छन्।

‘सूपर ८’ मा चारचार टोलीको दुई समूह हुने छन्। त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *