What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

देश गम्भीर राजनीतिक र सामाजिक संकटमा छ, कांग्रेसभित्र एकता आवश्यक छ : सभापति देउवा
What To Know
- गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।.
- भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालयजस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरुको नीजि घर डेरा, सञ्चार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबध्द हुने छ।.
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश अहिले गम्भीर राजनीतिक र सामाजिक संकटको अवस्थाबाट गुज्रिरहेको भन्दै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ।
मंगलबार सानेपास्थित बिपी स्मृति भवनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले भदौ २३ र २४ गतेका घटनाले देशलाई ठूलो क्षति पुर्याएको बताउनुभयो। उहाँले भन्नुभयाे, “हामी अहिले तोडफोड र आगजनीपछि खरानी बनेको कार्यालयमा बैठक गर्दैछौं। यो दृश्य सबैका लागि दुःखद र सोच्न लायक छ।”
देउवाले ती घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको चाँडो स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भदौ २३ गतेको जेन–जी आन्दोलन हिंसात्मक बन्दै निर्दोष युवाको ज्यान गएको घटनाले आफू गहिरो दुखी भएको बताउनुभयो।
भदौ २४ गते राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, अख्तियार, स्थानीय तह र दलका कार्यालयमा भएको आक्रमणलाई उहाँले नेपालको इतिहासकै भयावह घटना बताएका छन्। देउवाका अनुसार कांग्रेसका ४८ जिल्ला कार्यालय र करिब १२५ जना नेताका घर तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो।
“गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र कोइराला परिवारको ऐतिहासिक निवाससम्म जलाइएका छन्,” उहाँले भन्नुभयाे, “यो लोकतन्त्रकै मर्ममाथिको प्रहार हो।”
देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो। उहाँका अनुसार यो आकस्मिक होइन, सुनियोजित हमला हो, जसको निष्पक्ष अनुसन्धान हुनुपर्छ।
जेन–जी आन्दोलनका मागप्रति समर्थन
देउवाले जेन–जी आन्दोलनका जायज मागप्रति समर्थन जनाउँदै सुशासन, भ्रष्टाचारमुक्त वातावरण र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाको आवाज सुन्नु सबैको कर्तव्य भएको बताउँदै हिंसात्मक बाटो अपनाउनेहरूलाई कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो।
देउवाले पार्टीभित्रका मतभेद र असहमति थाती राखेर सबै सदस्यहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयाे, “व्यक्तिगत स्वार्थभन्दा माथि उठौं, देश र लोकतन्त्रको हितमा एकमत बनौं।”
उहाँले पार्टी नेतृत्व हस्तान्तरणबारे स्पष्ट पार्दै भन्नुभयो, “मैले पहिले नै भनेको छु, पार्टीमा सधैं एउटै सभापति रहँदैन। १५औं महाधिवेशनपछि म सभापति पद हस्तान्तरण गर्छु।”
निष्पक्ष निर्वाचनको माग
पूर्वप्रधानमन्त्री देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा निकायको मनोबल कमजोर भएको भन्दै सरकारलाई शान्ति र सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो।
त्यस्तै, लोकतान्त्रिक दलबीच संवाद र सहकार्य बढाएर देशलाई संविधानिक बाटोमा फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
देउवाले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै लोकतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन समर्पित गरेको बताउनुभयो। उहाँले कमैया मुक्त घोषणा, छुवाछूत उन्मूलन, महिलाको सम्पत्ति अधिकार, वैज्ञानिक भूमिसुधार, दलित–जनजाति उत्थान र भ्रष्टाचार निवारण ऐन २०५९ लाई आफ्नो कार्यकालका उपलब्धि भएकाे बताउनुभयाे ।
“पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ,” उहाँले भन्न्रुभयाे, “तर मेरो उद्देश्य पद होइन, राष्ट्र र लोकतन्त्र हो।”
व्यक्तिगत आक्रमणको स्मरण र जिम्मेवारी हस्तान्तरण
देउवाले भदौ २४ गते आफ्नै घरमाथि भएको आक्रमण स्मरण गर्दै भन्नुभयाे, “यो व्यक्तिगत आक्रमण होइन, लोकतान्त्रिक मूल्य र पद्धतिमाथिको प्रहार हो।” उहाँले आफ्नो ज्यान जोगाउन सहयोग गर्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिनुभयो।
स्वास्थ्य कारणले उहाँले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेका छन्। देउवाले विश्वास व्यक्त गर्दै भन्नुभयाे, “उहाँले पार्टीको हितमा जिम्मेवारीपूर्वक काम गर्नुहुनेछ।”
अन्त्यमा देउवाले बैठकबाट देशलाई निकास दिने ठोस निर्णय आउने विश्वास व्यक्त गर्दै सबैलाई लोकतन्त्र र संविधानको रक्षा गर्न एकताबद्ध हुन आग्रह गर्नुभयो।
सभापति देउवाको सम्बोधनको पूर्ण विवरण –
मिति २०८२।६।२८ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्युले राख्नु भएको मन्तव्य
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्य साथीहरू,
म यो बैठकमा सबै साथीहरूलाई हार्दिक स्वागत गर्दछु ।
मुलुकको यो विषम अवस्थामा आज हामी तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रूपमा बाँकी रहेको हाम्रो केन्द्रीय कार्यालय, बिपी स्मृति भवन सानेपामा बैठक बसिरहेका छौँ। यसले पक्कै पनि हामी सबैलाई स्तव्ध बनाएको छ।
म सबैभन्दा पहिले २०८२ भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
१. गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।
भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालयजस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरुको नीजि घर डेरा, सञ्चार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबध्द हुने छ।
हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका कार्यालय र करिब १ सय २५ जना नेता साथीहरूको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ। नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडाैँ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन मर्माहत भएको छु। त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ। यी दुवै दिनका घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।
भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई यस बैठकमार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो प्रतिकुल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को सङ्कट रोकिएको छ।
२. जेनजीले देशमा सुशासन र भ्रस्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता निश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बाेधन गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बाेधन गर्नै पर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ।
तर यो अकल्पनीय एवं अमानवीय र त्रासदी पूर्णरूपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेका छन्। यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ। देशमा सबै महत्त्वपूर्ण अङ्गहरूको मनोबल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अङ्ग वा निकायको मनोबल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नु पर्दछ।
साथीहरू,
३. विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबै भन्दा ठुलो र मियो पार्टीका रूपमा रहँदै आएको छ।
देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गरेन। जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रूपमा स्थापित गरी रह्यो।
लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आन्दोलन हुन् नेपाली कांग्रेसले ठिक राष्ट्रिय एजेन्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्याएको छ।
अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहदा देश भित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु। त्यसैले पनि हामीले समसामयिक राजनीतिको सहि विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ। यस बैठकबाट हामीले नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ। विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नु पर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नु पर्ने छ।
साथीहरू,
४. नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो। देशमा सङ्कट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनु पर्दछ। अहिले हाम्रा बिचमा व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण हुन्। म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु ( विषयवस्तुमा व्यापक छलफल गरौं, एकमतका साथ निर्णयमा पुगौं र ठोस ढङ्गले निर्णयको कार्यान्वयन गरौं।
साथीहरू,
५. पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने “घरमा सधैं एकै जना मुली रहँदैन” पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्त्रण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नु हुने छ त्यसमा द्विविधा छैन।
६. देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ। संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ। जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व शर्तका रूपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजना बारे छलफल गर्न आवश्यक छ।मुलुकमा सङ्कट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौं।
साथीहरू,
७. तपाईंहरूलाई थाहा नै छ म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि जीवन पर्यन्त सङ्घर्ष गरेको व्यत्ति हुँ । म लोकतन्त्रका निमित्त राजनीतिमा होमिँदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन। धेरै खालका दुख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ। सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन। मन, वचन र कर्ममा एकै उद्देश्य थियो – राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।
मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ। मैले राजनीतिमा निकै आरोह अवरोह बेहोरेको छु। देशमा सङ्कट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहने छु। मैले सदैव साथीहरूबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु। साथीहरूका प्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ।
मैले नेपाली कांग्रेसलाई सधै सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयास गरे। चाहे पार्टी भित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरूमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियान नै चलाएँ। म यस काममा गर्व पनि गर्न चाहन्छु।
मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईंहरूलाई अवगत नै छ।
सामाजिक कुरीतिको रूपमा रहेको कमैया मुक्ति, छूवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ। नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ। नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमि सुधार लागु गरेको हुँ। यसकै जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो।
सम्पति महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११औं संशोधन गरेर पैतृक सम्पति माथि महिला र पुरुषको हक स्थापित गरेको हुँ। दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ।
मुलुकको आर्थिक रूपान्तरणमा डिपार्चरको रूपमा रहेको मुल्य अभिवृद्दि कर लागु गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्व कालमा सुरु भएको हो । प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा काम गर्दा केही कमि कमजोरी पनि भए होला तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाइ केन्द्रमा राखेर नै काम गरे। केन्द्रीय कार्यसमितिका निर्णयहरू सबै सर्वसम्मत भएका छन्। सरकारमा हुँदा भएका पदिय जिम्मेवारी पनि सरसल्लाहमै भएका छन्। सकभर सबै साथीहरूलाई पार्टीको निर्णय प्रक्रियामा सहभागी गराएको छु।
८. गत भाद्र २४ गते सिङ्गो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्दार गरिएको थियो। म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।
तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु। मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ।
यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरू माथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।
म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सवैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहने छु।
हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विस्वास छ। नेपाली कांग्रेसले आफुलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ ।
राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धती गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टी भित्र एकता कायम राख्नुपरेको छ । यसलाई ध्यानमा राखी हाम्रो पार्टीको बिधान अनुसार तोकिएको समयमा १५ औं महाधिबेशन सम्पन्न गर्ने बिषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवस्यक निर्णय लिनेछ । देशमा विध्यमान राजनीतिक परिस्थितिको मुल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरूसँग पनि वार्ता सम्वाद गर्नु छ ।
मेरो स्वास्थयका कारणले म पार्टीका उप-सभापती श्री पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतीका रूपमा काम गर्ने गरी तोकेको छु । वहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।
जय नेपाल