नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा : ३३ करोड बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  उनीहरूमाथि ३३ करोडभन्दा बढी बिगो दाबी गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेल का अनुसार तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हालका प्रबन्ध निर्देशक) लगायत १८ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ। उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतको ठेक्का लम्ब्याएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

आइतबार विशेष अदालतमा दायर गरिएको यो मुद्दामा प्रतिवादीहरूबाट ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ। साथै, बिलिङ प्रकरणमा भएको ९ करोड ८८ लाख रुपैयाँ नोक्सानी असुल उपर गर्न पनि अख्तियारले माग गरेको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी ले अख्तियारले सार्वजनिक सम्पत्तिको हिनामिना र हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक सङ्गीता पहाडी सहित १८ जनालाई प्रतिवादी बनाएर आरोपपत्र दर्ता गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बिगो ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ कायम गरिएको छ र त्यसमध्ये ९ करोड ८८ लाख ४१ हजार ९५६ रुपैयाँ प्रतिवादीहरूबाट असुल उपर गर्न मागदाबी गरिएको छ।

अख्तियारले गरेको विस्तृत अनुसन्धानका क्रममा नेपाल टेलिकमबाट प्रतिस्पर्धा बिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएको थियो। २०७९ पुसमा भएको यो ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो ले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा तीन अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *