अझै पनि दलालीको पछि लागेर लगानी गरिँदै, कहिले खुल्छ जनताको आँखा ?

रुषा थापा
वि.सं.२०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो । २०८१ चैत २९ गते सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुग्यो । छ दशकको बीचमा सुनको मूल्य हजारौं गुणाले बढेको छ । जबकी सुनको तौल जतिको त्यति नै हो ।

केही दिनअघि सुन तोलाको एक लाख ७८ हजार रुपैयाँ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएपछि सुन प्रतितोला एक लाख ७८ हजार रुपैयाँबाट घटेर एक लाख ७३ हजार रुपैयाँमा झरेको थियो ।

सबैले भन्थे, अब सुन तोलाको एक लाख तल झर्छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई एक सय २५ प्रतिशत भन्सार लगाउँदै नेपालसहित अन्य देशलाई भने ९० दिनका निम्ति भन्सार हटाए । ट्रम्पले भन्सार स्थगित गर्नासाथ एक लाख ७३ हजारमा झरिसकेको सुन अहिले बढेर एक लाख ८५ हजार रुपैयाँमा पुगेको छ ।

अहिले बजारमा हल्ला छ, सुन प्रतितोला दुई लाख रुपैयाँ नाघ्रछ । तर, तीन महिनापछि ट्रम्पले पुनः भन्सार लगाउनासाथ सुनको मूल्य ह्वात्तै घट्ने छ । दुई लाखमा सुन किन्नेहरु चुलुम्मै हुनेछन् । त्यतिबेला एक लाख रुपैयाँ प्रतितोलामा समेत सुन बिक्दैन । सुनको मूल्य अन्तर्राष्ट्रिय मूल्यअनुसार निर्धारण हुन्छ । हामी कहाँ भने दलालको पछि लागेर सोचविचार नगरी लगानी गर्ने प्रवृत्ति कायमै छ ।

दलालले जे जे भन्यो, त्यसमा विश्वास गर्छन् सर्वसाधारण । आफूसँग भएको सम्पूर्ण रकम दलालीको पछि लागेर लगानी गर्छन् अनि डुबेपछि आत्महत्या गर्नुबाहेक विकल्प रहँदैन । सुन त एउटा उदाहरण मात्रै हो । घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा बिचौलिया, दलालीकै पछि लागेर आफ्नो भएभरको लगानी गर्दा मानिसहरु घर न घाटको अवस्थामा पुगेका छन् ।

यद्यपि, अहिले पनि जनतामा चेतना आएको छैन । अझै पनि दलालीहरुको विश्वासमा परिरहेका छन्, फसिरहेका छन् । खै कहिले खुल्ने होला, सर्वसाधारणको आँखा ? २०३२–३४ सालतिर जग्गा रोपनीको एक हजार रुपैयाँमा समेत बिक्दैन्थ्यो, त्यो पनि काठमाडौं उपत्यकामै । उपत्यका त्यतिखेर खण्डहर थिएन । खेतबारी मात्रै थियो । घर कमै हुन्थ्यो ।

घर भएपनि अहिलेजस्तो पक्की होइन, माटो र खरको हुन्थ्यो । पछिल्लो पाँच–छ दशकमा उपत्यका धेरै नै परिवर्तन भएको छ । अचेल माटोको घर कतै देखिँदैन । ठूल्ठुला पक्की घर, त्यसमा पनि आकर्षक देखाउन सिसाको प्रयोग गरिएको हुन्छ । उपत्यका घरहरुको शहर बनेको छ । जता आँखा घुमाएपनि घर मात्र देखिन्छ । खाली जमिन देख्न मुस्किल परिसक्यो ।

त्यसो त पाँच वर्षअघि उपत्यकामा आनाकै ६० लाखदेखि करोडौं मूल्यमा जग्गा बिक्री भएको पाइन्छ । एक रोपनी जग्गामा १६ आना हुन्छ । अनि पाँच–छ दशककै बीचमा जग्गाको मूल्य हजारौं गुणाले कसरी बढ्यो ? जबकी न जग्गाको लम्बाई बढेको छ न चौडाई नै । मानिसहरुले बुझेनन् कि यसको पछाडि दलालीको हात छ ।

उल्टै जग्गाको मूल्य लगातार बढेको देखेर लगानी गर्न हानाथाप गरियो । अहिले त्यसैको परिमाण भोगिरहेका छन् । ०७८ सालमा आनाको ठाउँअनुसार ५० लाखदेखि १४ करोड रुपैयाँमा किनियो । त्यसयता घरजग्गामा आएको मन्दीका कारण चर्को मूल्यमा किन्नेहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । त्यही जग्गा किनेको आधा मूल्यमा दिन्छुभन्दा समेत बिक्री भइरहेको छैन ।

गाडी र सेयरमा पनि भएको यही नै हो । बैंकले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीले ३५ सयदेखि पाँच हजार रुपैयाँसम्म पुर्याए । छिमेकी मुलुक भारत र चीनले एक लाख रुपैयाँमा गाडी बेच्यो । नेपालका अटो शोरुमहरुले त्यही गाडी यहाँ २५ लाखदेखि करोडसम्ममा बेचे । घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेमा व्यक्ति मात्र छैनन्, बैंक, वित्तिय संस्था पनि छन् ।

सहकारी यही क्षेत्रमा लगानी गर्दा भाग्यो । बैंकको पनि यीनै तीन क्षेत्रमा लगानी रहेको प्रष्टै छ । त्यसैले, अब बैंक पनि टाट पल्टिने अवस्थामा पुग्नेछ । जलविद्युत आयोजना तथा हाइ्रडोपावर कम्पनीहरु लगातार घाटामा छन् । यस्तो अवस्थामा सेयरको मूल्य कसरी बढ्ला ? तैपनि दलालीहरुले जनतालाई फसाइरहेका छन् । नेपाली काँग्रेसका नेता स्व.गणेशमान सिंहले भन्थे, नेपाली जनता भेडा हुन् ।

यो तितो सत्य हो । साँच्चिकै हामी नेपाली भेडा नै रहँछौं । यो पुष्टि भइरहेको छ । फसिन्छ, डुबिन्छ भनेर थाहा हुँदाहुँदै जानीजानी त्यही लगानी गर्नुलाई बृद्धिजीवी भन्नु कि मुर्खता ? आफैं विचार गरौं । ०७२ सालको महाभूकम्पले पुर्याएको जनधनको क्षति अझै पनि हाम्रो आँखा पछाडि छर्लङ्ग छ । त्यतिबेला ठूल्ठुल्ला घर भूकम्पले ढलेको हाम्रा आँखाले देखे ।

यति मात्र होइन, विभिन्न समयमा आएको बाढीपहिरोले ठूल्ठूल्ला घर ढलेको अझै बिर्सिन सकेका छैनन् । तैपनि, हामीले अग्ला घर बनाउन छोडेका छैनौं । भाडामा लगाउन ठूला घर बनाउने क्रम जारी छ । अनि भूकम्प आएपछि भाडा आउनु त परको कुरा हो, त्यही घर ढलेर किचेर मानिसको ज्यान जाने गर्छ । अर्को कुरा, पछिल्लो समय अधिकांश मानिस रोगको सिकार बनेका छन् । त्यसमा पनि उनीहरुकै गल्ती छ ।

काम नगर्ने, बसिबसि खाने प्रवृत्तिका कारण अहिले मानिसलाई आफ्नै ज्यान बोझ भएको छ । घर बनाउने, भाडामा लगाउने अनि खाने । यही हो, पछिल्लो समय अधिकांश मानिसहरुको कामधन्दा । आफ्नै घरको कामसमेत गर्न सक्दैनन्, उनीहरु । जबकी पहिला गाउँमा हुँदा बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म मानिसहरु खेतबारीमै व्यस्त हुन्थे ।

काम गर्थे । त्यति काम गरेर पनि मिठो होइन, स्वस्थकर खाना खान्थे । तर, अहिले त मानिसहरु काम नगर्ने, अनि चिल्लो, तिरो, मिठो खानुपर्ने । जसका कारण सुगरदेखि प्रेसर, थाईराइटसम्मको समस्या देखिएको छ । जनता होस् या सरकार अल्छी छन् । काम नगरी खानु मात्र पर्ने । सरकार भन्छ, रेमिट्यान्स बढ्यो । अर्थतन्त्रमा सुधार आयो ।

अर्थतन्त्रमा सुधार आएको भए किन निर्माण व्यवसायी, दुध, उखु किसान र अस्पतालहरुको बक्यौता भुक्तानी नदिएको ? विदेशी ऋण २७ खर्ब किन लिएको छ । यो स्पष्ट पारियोस् । सरकार जनतालाई भ्रममा पारेर सत्ता टिकाउने खेलमा मात्र सीमित छ । देश रहोस् नरहोस् तर सत्ता चाँहि रहनुपर्यो । अहिले अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको छ । नेपालीले विदेशमा रगत पसिना बगाएर काम गरी स्वदेशमा पैसा पठाइदिएको छ त रेमिट्यान्स बढ्यो नि ।

यदि विदेश गएका नेपालीहरु पनि यहाँजस्तो अल्छी गरेर वा हात बाँधेर बस्ने हो भने कसरी रेमिट्यान्स बढ्छ । देशमा राजस्व उठ्न छोडिसक्यो । सरकारलाई राजस्व उठाउनतर्फ कुनै चासो छैन । रेमिट्यान्सले नै देश धानिरहेको अवस्था छ । विदेशमा रहेका नेपालीले रेमिट्यान्स नपठाएको भए नेपाल पहिल्यै टाट पल्टिने थियो । यहाँ जनता र सरकार नै ठिक भएन ।

जनताको ध्यान एकअर्कालाई ठग्नतिर छ भने सरकार जनतालाई झुकाउन । घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा जनता डुबिसके । तापनि अझै उनीहरुको आँखा खुलेको छैन । अब जनतामा चेतना आओस् । नत्र अहिले भएको धेरथोर सम्पत्तिसमेत गुमाउनुपर्ने छ । लगानी गर्नुपूर्व सोचविचार गरौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *