बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अमेरिकी सहायता परियोजना एमसीसीको अनुदान राेकियाे
काठमाडाैं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान अस्थायी रूपमा रोकिएको छ।
अर्थ मन्त्रालयका अनुसार, अमेरिकी सरकारले २०२५ जनवरी २० मा जारी गरेको कार्यकारी आदेशअनुसार एमसीसी अनुदान रोकिएको हो। मन्त्रालयले फागुन २ गते एमसीसीबाट प्राप्त इमेल उद्धृत गर्दै अनुदान स्थगनको जानकारी गराएको छ।
‘नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न सम्झौता अनुरूप कार्यान्वयन भइरहेका परियोजनाका लागि अमेरिकी राष्ट्रपतिको निर्णयअनुसार ९० दिनका लागि भुक्तानी प्रक्रिया स्थगित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव डोलेन्द्र शर्माले हाललाई एमसीसी सहायता अस्थायी रूपमा रोकिएको बताएका छन्। उनले भने, “संसारभरका सहायता स्थगित गर्ने निर्णयसँगै नेपालमा सञ्चालित एमसीसी सहायता पनि ९० दिनका लागि रोकिएको जानकारी आएको छ। त्यसपछि के हुन्छ, थप निर्णय गरिनेछ।” उनले अमेरिकी संसद्बाट पारित एमसीसी परियोजनामा नेपाल सरकारको संलग्नता रहेकाले ९० दिनपछि निरन्तरता रहने अपेक्षा गरिएको उल्लेख गरे।
२०७४ सालमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशबीच अमेरिकाको वाशिङ्टन डीसीमा ५०० मिलियन डलर अनुदान सहायता सम्बन्धी सम्झौता भएको थियो। एमसीसी नेपाल कम्प्याक्ट २०८० भदौदेखि कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गरेको थियो।