कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी

काठमाडौँ । घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषिकर्ममा रमाइरहनुभएको छ । यही पेसाबाट उहाँले वार्षिक १० आम्दानी गर्दै आउनुभएको हो ।

अहिले गोलभेँडा, अकबरे खुर्सानीलगायत तरकारीको व्यावसायिक खेती गर्दै आउनुभएका ३८ वर्षीय रोकाले २० वटा बङ्गुर पनि पालेको बताउनुभयो । उहाँले एक बिघामा तरकारीखेती गरिरहेको भन्दै यसबाट प्रशस्त आम्दानी हुँदै आएको बताउनुभयो ।

यसअघि रोकाले करिब १५ वर्ष रोजगारीको सिलसिलमा भारतमा जीवन व्यतित गर्नुभयो । अरुको देशमा काम गर्नुभन्दा आफ्नै गाउँठाउँमा परिवारसँगै बसेर दुई–चार पैसा कमाएर बस्न पाएकामा उहाँले खुसी व्यक्त गगर्नुभयो । “यस वर्ष समयमा गोलभेँडा उत्पादन गरेकाले बजारको समस्या भएन”, उहाँले भन्नुभयोे, “भोलिका दिनमा पनि यही खेतीलाई निरन्तरता दिने योजनामा छु ।”

मिलीजुली कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आउनुभएका रोकालाई आजभोलि बारीबाट गोलभेँडा टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । उहाँले आफूले गर्दै आएको सम्पूर्ण कृषि व्यवसायमार्फत वार्षिक रु १० लाख बढी आम्दानी हुने जनाउँदै करिब रु छ लाख बचत भइरहेको बताउनुभयो ।

यो वर्षको सुरुमा गोलभेँडा प्रतिकिलो रु एक सय ३० का दरले बिक्री गर्नुभएका रोकाले अहिले भने प्रतिकिलो रु २०–२५ मा बिक्री हुने उल्लेख गर्नुभयो । विस्तारै गोलभेँडाको मूल्य बढ्दै जाने उहाँको बुझाइ छ । “पछिल्लो समय गोलभेँडाको मूल्य घटेको भए पनि आफ्नो लगानी र आम्दानी उठिसकेको छ”, उहाँले भन्नुभयोे, “अहिले आफ्नै साधनमार्फत गोलभेँडा बिक्रीका लागि जाने गरेको छु ।”

घोराही–१९ रालबाङमा सिँचाइको सुविधा पर्याप्त भएकाले किसानलाई कृषि व्यवसायमा आबद्ध हुन सहज हुने गरेको रोकाको भनाइ छ । उहाँसहित छ जनाको परिवार रहेको भन्दै कृषिकर्मबाट भएको आम्दानीले दैनिक घर खर्चका साथै छोराछोरीलाई शिक्षा खर्च व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।

बिचौलियाका कारण किसान र उपभोक्ता सधैँ मारमा पर्ने समस्या भएकाले भन्दै रोकाले अटोबाट गाउँ, सहर सबैतिर उत्पादित तरकारी बिक्री गर्दै आएको बताउनुभयो । युवालाई विदेश जानबाट रोक्न स्थानीय सरकारले रोजगारीका अवसर सृजना, आयमूलक सीप विकासलगायत क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *