आज माघे सकराती पर्व मनाइँदै, चेली पुज्दै मगर समुदाय

काठमाडाैँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको हाे । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा मेला लाग्नुका साथै माघ स्नान गर्ने भक्तजनको भीड पनि लाग्ने गर्दछ ।

यस्तै मगर समदायले पनि आज माघे सकराती मनाउँदैछन् । मगर समुदायले यस पर्वलाई चेली पुज्ने पर्वका रुपमा मनाउने गरेका छन् । यसैदिन पितृ श्राद्धका रुपमा खचिडी चढाउने पनि चलन छ । हरेक वर्ष जस्तै यस वर्ष पनि काठमाडाैंकाे टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रमकाे आयोजना गरि  मगरहरूले सकराती मनाउँदैछन् । सरकारले आज माघी मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *