हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु
दक्षिण कोरिया । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२० जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।
देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
न्याश्नल फायर एजेन्सीले १२० जनाको मृत्यु भएको र २ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन्।
त्यसअघि विमानस्थलका एक अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।
कार्यवाहक राष्ट्रपतिको निर्देशन
दुर्घटनास्थलमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ-मुक पनि पुगेको राष्ट्रपतीय कार्यालयले जनाएको छ।
उनले जनशक्ति, स्वास्थ्य सेवा र उपकरण उपलब्ध गराएर उद्धार प्रयासलाई सहयोग पुर्याउन निर्देशन दिएको उनको कार्यालयले जनाएको छ।
सरकारले शोक सन्तप्त परिवारलाई सकेको सहयोग दिने जनाएको छ।
जारी राजनीतिक सङ्कटमाझ यसअघिका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि उनी शुक्रवार मात्रै कार्यवाहक राष्ट्रपति घोषित भएका थिए।
सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू प्रकाशित गरिरहेका छन्।
तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ।
चराहरूले अवतरण गराउने ‘ल्यान्डिङ गियर’ मा समस्या निम्त्याएको हुनसक्ने भनिएको छ।
अग्नि नियन्त्रण निकायले खराब मौसम र चराले ठक्कर दिनु दुर्घटनाको सम्भावित कारण हुनसक्ने ठानेको छ। मुआन फायर डिपार्टमेन्टका प्रमुखले वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताए।
उनले भने, “विमानको पछिल्लो भाग सग्लो छ तर अरू भाग चिन्न नसकिने अवस्थामा पुगेको छ।”
उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ।
कोरियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म एक जना चालक दलको सदस्य र एक यात्रुको उद्धार भएको जनाएको छ।
अरू भिडिओहरूमा कालो धुँवाको ठूलो लप्का आकाशतर्फ उडेको देख्न सकिन्छ।
कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन्।
मुआन राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्छ।
दक्षिण कोरियाको उड्डयन उद्योग हवाई सुरक्षाका मामिलामा बलियो रहेको विश्वास गरिन्छ।
जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो। सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा हो।
सो दुर्घटनापछि जेजु एअरले माफी मागेको छ।
एउटा विज्ञप्तिमा उसले भनेको छ, “हामी जेजु एअर मुआन विमानस्थलमा भएको यो घटनामा क्षति व्योहोरेका सबैसँग शिर निहुराएर माफी माग्छौँ।”
“यो घटनापछि हाम्रोतर्फबाट गर्न सकिने सबै थोक हामी गर्छौँ। यो पीडाप्रति हामी क्षमा माग्छौँ,” जेजु एअरले भनेको छ।